रवि लामिछानेविरुद्ध मुद्दा चलाउन मागसहित सर्वोच्चमा रिट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । लामिछानेविरुद्ध राहदानी दुरुपयोगको कसुरमा मुद्दा चलाउन माग गर्दै सिन्धुलीका युवराज सफलले आइतबार सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् ।

लामिछानेविरुद्ध राहदानी दुरुपयोग कसुरमा मुद्दा चलाउन आवश्यन नभएको भन्दै प्रहरीले मुद्दा नचलाउन सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको थियो । प्रहरीको सिफारिसकै आधारमा सरकारी वकिल कार्यालय र महान्यायाधीवक्ताको कार्यालयले पनि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।

सफलले दायर गरेको रिटमा महान्यायाधीवक्ताको कार्यालयलाई समेत विपक्षी बनाइएको छ ।

अमेरिकी नागरिकता कायम रहेको बेला नेपाली नागरिकता लिएको र उक्त नागरिकताकै आधारमा रविले १३ जेठ २०७२ मा नेपाली राहदानी लिएका थिए । यसरी राहदानी दुरुपयोग भएको भन्दै उनीविरुद्ध मुद्दा चलाउन सफलको माग छ ।

नागरिकता मुद्दामा लामिछानेको सांसद पदसहित तत्काल कायम रहेको उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पद समेत खारेज भएको थियो ।

अहिले उनी पहिलेकै निर्वाचन क्षेत्र चितवन २ बाट निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरिरहेका छन् । शनिबार मात्रै उनले उम्मेदवारी घोषणा गरेका थिए । उनले उम्मेदवारी घोषणा गरेपछि आइतबार नै उनीविरुद्ध सफलले मुद्दा दायर गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *