सरकारको सय दिन पुगेको अवसरमा नेताहरुको यस्ताे छ प्रतिक्रिया
काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार निर्माणको सय दिनमा कानून निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएकी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएको सोमबार (भोलि) सय दिन पुग्दैछ । प्रधानमन्त्री दाहाल पुष १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो भने पुष ११ गते पद तथा गोपनियताको शपथ लिँदै पहिलो पटक मन्त्रिपरिषद् गठन गरेका थिए ।
सरकारको सय दिन पुगेको अवसरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री शर्माले सरकारले सेवा प्रवाह र कानून निर्माणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताइन् ।
उनले सरकारी कामकाजको सन्दर्भमा धेरै भीडभाड हुने ठाउँहरु व्यवस्थित हुँदै गरेको बताइन् ।
त्यस्तै किसानको समस्या समाधान गर्न दुध र गहुँको समर्थन मूल्य तोकिएको भन्दै त्यो पनि सरकारको उपलब्धि भएको बताए । उनले सरकारले समयमै पाठ्यपुस्तक पु¥याउने तयारी गरिरहेको पनि उनले बताइन् ।
त्यस्तै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले सय दिन बिताएको कुरालाई अनौठो मान्नु जरुरी नभएको टिप्पणी गरे । उनले पछिल्लो समय प्रधानमन्त्रीले सरकार पुर्नगठन गरेसँगै सरकारले गति लिने अवस्था बनेको बताए ।
उनले बारा क्षेत्र नं. २ को उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने पनि स्पष्ट पारे ।
नेपाली कांग्रेसका सह–महामन्त्री जीवन परियारले सरकारको सय दिन राजनीतिक रुपमा अस्तव्यस्त रहेको टिप्पणी गरे । उनले सरकारले ‘डेलिभरीका कामहरु’ प्रारम्भ गरेको भन्दै आगामी दिनमा ती कामले गति पाउनेमा विश्वास व्यक्त गरे । उनले सरकारलाई अब कुनै रोकतोक नहुने भन्दै सरकारले गति लिनुपर्ने धारणा राखे ।
नेकपा(एमाले)का सचिव छविलाल विश्वकर्माले सरकारले कुनै पनि काममा सकारात्मक पहलकदमी लिन नसकेको बताए । उनले एमाले सरकारमा रहँदा अर्थतन्त्रमा आशा जागेको भन्दै गठबन्धन परिवर्तन भएसँगै सो आशा निराशामा परिणत भएको बताउनु भयो । उनले देशको परिस्थिति गम्भिर रहेको उल्लेख गरे ।
नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सय दिनमा सरकारले धेरै राम्रा निर्णय गरेको बताए । उनले सरकारले गरेका निर्णयहरु कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले मिटरब्याजीहरुलाई एक महिनाभित्रैमा कारबाही गर्नुपर्नेमा उनले जोड दिए । उनले रोकिएका ऐनहरु छिटोभन्दा छिटो ल्याउनुपर्ने बताए ।
त्यस्तै जनता समाजवादी पार्टी, नेपालका नेता राजकिशोर यादवले सरकारले सय दिनमा ठोस काम नगरेर गठबन्धन निर्माणमा मात्रै केन्द्रीत भएको प्रतिक्रिया दिए । उनले सरकारमा चुनाव अघिको गठबन्धन ब्युँतिएसँगै संविधानको रक्षा हुने विश्वास बनेको बताए । उनले सरकारले आगामी दिनमा जनताको भावना अनुरुप काम गर्न सक्नुपर्ने बताए ।