‘एमाले विरोधी हुँ’ भनेपछि याे सरकारमा मन्त्री हुने याेग्यता पुग्छ : ओली

काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरु वर्तमान सरकारमा मन्त्री भएको टिप्पणी गरेका छन् ।

एमालेको पक्षमा छैनौँ भन्नेहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरु बनाएको ओलीको जिकिर छ । उनले सत्तारुढ दलहरु दशतिर फर्केकाले उनीहरुबाट देश बन्नै नसक्ने पनि दोहोर्याए । आइतबार काठमाडौँमा आयोजित पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले देश बनाउनका लागि एउटा नीति, एउटा विचार, एउटा संगठनले नेतृत्व गर्नुपर्ने तर्क गरे ।

दश जनाले दशतिर तानेकाले देशको रथ कता जाने भन्ने प्रश्न वर्तमान सरकारमाथि रहेको ओलीको भनाइ थियो । उनले एमालेले देशलाई बनाउनका लागि राष्ट्रिय शक्ति निर्माणको अभियानलाई अघि बढाएको दावी समेत गरे ।

‘राष्ट्रिय शक्ति निर्माण गर्ने, देशको निम्ति काम गर्ने उद्देश्य बोकेको एमालेलाई राष्ट्रिय शक्ति बन्न नदिएर नेपाललाई छिन्नभिन्नको स्थितिमा पुर्याइएको छ,’ उनले भने, ‘१० वटा पार्टीले दशतिर तानेको छ । भवितव्यमा दुई वटा सिट आयो । एमालेका विरुद्ध बोले । मन्त्री भए । जान्नुतान्नु केही पनि पर्दैन । एमालेको पक्षमा म छैन । एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेशन पुग्छ ।’

अध्यक्ष ओलीले एमालेलाई राष्ट्रिय शक्ति बन्न नदिएर देशलाई दक्षिणपन्थी शक्तिहरुले छिन्नभिन्न बनाउने प्रयास गरिरहेको पनि बताउनु भयो । उनले एमाले एक्लैले बहुमत ल्याएर देश बनाउन चाहेको पार्टीले देशव्यापी रुपमा ग्रासरुट अभियान चलाएको स्पष्ट पारे । आफूहरु अव गठजोडको पक्षमा नलाग्ने पनि ओलीले प्रष्टयाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *