बारा २ : बिना तामझाम जनमतबाट कुशवाहाले गराए उम्मेदवारी दर्ता
जनकपुरधाम । जनमत पार्टीबाट बारा क्षेत्र नम्बर २ मा शिवचन्द्र कुशवाहा उम्मेदवारी दर्ता गराएका छन् । बिना तामझाम कलैयास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनी चारपाङ्ग्रे गाडीमा रोडशो गर्दै उम्मेदवारी दर्ता गराउन पुगेका थिए । उनका कार्यकर्ताहरू मोटरसाइकल जुलुस निकालेको थियो । कुशवाहा माओवादी केन्द्र परित्याग गरी जनमतमा प्रवेश गरेलगत्तै उम्मेदवार घोषणा भएका थिए । उनी पूर्व मन्त्री पनि हुन् । पछिल्लो पटक थोरै मतले पराजित उनी उपनिर्वाचन जित्ने दाबी गरेका छन् ।
जसपाबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल लगायतले उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र लोसपाका समेत समर्थन पाएका जसपा अध्यक्ष यादवले उम्मेदवारी दर्तामा ठुलो तामझाम गरे ।
उनी उम्मेदवारी दर्ता गराउन पुग्दा ५ सय बढी गाडीको लहर देखिएको थियो ।