ओलम्पिक छनौट : घरेलु मैदानमा भियतनामको सामना गर्दै नेपाल

काठमाडौँ । महिला फुटबलको पेरिस ओलम्पिक छनौट अन्तर्गत एसिया छनोटको पहिलो चरणमा नेपालले भियतनामसँग खेल्ने भएको छ । समूहका प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्रै खेल्न लागेको हो ।

समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए । यस समूहबाट प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्रै खेल्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

भियतनामसँग खेल्ने दुई खेल अन्तर्गत पहिलो खेल नेपालले भियतनामसँग आज खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली समय अनुसार साँझ ६ बजेदेखि शुरु हुने एन्फाले जनाएको छ ।

छनोट खेलमा शीर्ष स्थानमा रहने टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । पहिलो चरणमा एसियाका २६ टोलीलाई सात समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष टोली दोस्रो चरणमा छनोट हुने छन् । भियतनामको टोली सोमबार नै काठमाडौँ आइसकेको छ । ओलम्पिक छनोटको तयारीकै लागि नेपालले गत महिना भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । भारतसँगको दुवै मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले यस खेलमा नेपालले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । उनले फिफा वरीयताले खेलमा खासै असर नगर्ने बताउँदै आफ्नो टोलीले उत्कृष्ट खेल खेल्ने विश्वास व्यक्त गरे । फिफा वरियतामा नेपाल भन्दा भियतनाम माथिल्लो स्थानमा छ ।

प्रशिक्षक थापाले भियतनाम बलियो विपक्षी टोली भएता पनि आफ्नो टोलीले विगत एक महिनादेखि विशेष तयारी गरिरहेकाले नतिजा आफ्नो पक्षमा पार्ने बताए । नेपाली टोलीका कप्तान एन्जिला तुम्बापो सुब्बाले बलियो टोलीसँग खेल्न आफूहरू तयार रहेको भन्दै वरियताले असर नगर्ने बताइन् । भियतनामसँगको दोस्रो खेल चैत्र २५ गते शनिबार हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *