बज्रयोगिनी माईको जात्रा सुरु (तस्बिरहरू)
काठमाडौँ । शंखरापुर नगरपालिकाको साँखुमा ८ रात ९ दिन सम्म चल्ने बज्रयोगिनी माईको जात्रा आजदेखि सुरु भएको छ । नगरको उत्तरतिर रहेको मणिचुड पर्वतस्थित गुँ विहार (बज्रयोगिनी मन्दिर)बाट बज्रयोगिनीको मूर्तिसँगै चिभा:द्य: (प्राचीन स्वयम्भू चैत्य), सिंहमुखी, बाघमुखी मूर्तिलाई खटमा बोकेर साँखु बस्तीमा ल्याएसँगै यो जात्रा सुरु हुन्छ ।
करिब ९०० वर्षभन्दा पुरानो यो जात्रा अवधिभरि पाँच थकाली गुर्जुसहित तान्त्रिकदेवीको रूपमा मानिने बज्रयोगिनीलाई दाम, सुपारी र स्वयम्भू चैत्य चढाएर आठ दिनसम्म साँखु बजार घुमाउँदै पूजा अर्चना गरिन्छ । जात्रा सुरु गर्न नायखीँ बाजा बजाएपछि साँखु नगरभित्रका बासिन्दाले छालाका जुत्ता लगाउन, छाता ओढ्न, पुरानो घर भत्काउन, नयाँ घर बनाउन, ऋण असुल्न, हात्ती घोडा चढ्न नपाउने सांस्कृतिक परम्परा छ ।
जात्रा अवधिभर साँखु नगरवासीहरू सबै समान होउन् भन्ने उद्देश्य जुत्ता लगाउन, छाता ओढ्न, घोडा चढ्न नपाउने परम्परा सुरु गरिएको जनविश्वास छ । बज्रयोगिनी मन्दिरबाट खट उठाएर साँखुका आठ टोलमध्ये चार टोलमा राख्ने गरिन्छ । खट राख्न धुला, चलाखु, इला र सुनटोल गरी चार वटा तोकिएको छ । यस वर्ष सुनटोलमा खट राख्ने पालो परेको छ । धुलाटोलमा राख्दा साल्खा, चलाखुटोलमा राख्दा दुगाहिटी, इलाटोलमा राख्दा पुखुलाछी र सुनटोलमा राख्दा इपाटोलको पनि प्रतिनिधित्व हुने गरी खट राख्ने गरिएको हो ।
राजा शंखदेवले कालिगड सम्बत १८०१ मा शंखरापुर बस्ती ‘हालको साँखु’ बसालेको भन्ने इतिहासमा उल्लेख रहेको पाइन्छ । बस्ती बसालिसकेपछि राजा शंखदेवले कालिगड सम्बत १८१८ बाट बज्रयोगिनीको जात्रा सुरुवात गरेका थिए। बज्रयोगिनी क्षेत्रलाई बज्राचार्यहरूको उद्गम थलोको रूपमा समेत लिइन्छ।
तस्बिरहरू