तनहुँका मतदाता विवेकी हुनुहुन्छ, म आशावादी छु : सर्वेन्द्र खनाल (अन्तर्वार्ता)

पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालले ४ मंसिरको आम निर्वाचनमा काठमाडौँ–६ मा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका थिए । तर, उनले सोचेको नतिजा पाउन सकेनन् । अर्थात् उनी पराजित भए । अहिले फेरि एमालेबाट तनहुँ–१ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बनेका छन् । अघिल्लो पराजयलाई विजयमा परिणत गर्न अहिले उनी तनहुँ १ मा केन्द्रित भएका छन् । १० वैशाखमा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा केन्द्रित उनी खनालसँग मकालुखबरले यसै विषयमा केन्द्रित रहेर कुराकानी गरेको छ । प्रस्तुत छ उक्त संक्षिप्त कुराकानी :

 

यसअघि नै तपाईँ सांसद आकांक्षी हुनुहुन्थ्यो, काठमाडौँ–६ मा एमालेबाट उम्मेदवारकाे टिकट पाउनुभयो । तर त्यहाँ पराजित भएको केही महिनामै अहिले फेरि अर्को टिकट पाउनुभयो । अहिलेको चुनावलाई कसरी हेर्नुभएको छ ?

सर्व प्रथम त एमाले पार्टीले मलाई विश्वास दिएर मेरो जन्मभूमिमा उम्मेदवार हुन पाएको छु । यो तनहुँबासी र नेपालकै सेवा गर्ने मेरो लागि सुनौलो अवसर हो । यही ठाउँको माया हुन्छ, यसलाई बनाऔँ भन्ने हुन्छ । नेपालमै हुँदा र बाहिर हुँदा पनि देशको झण्डा फहराउने काम गरेको छु । तनहुँको विकास जुन हिसाबले हुनुपर्ने हो, अहिले पनि यहाँको अवस्था दयनीय छ । हिजो बर्दीबाट देशको सेवा गरिरहेको थिएँ । अब राजनीतिक फिल्डबाट सेवा गर्न समर्पित हुने भावनाले आएको हुँ । मलाई गर्वको महसुस भएको छ । म आशावादी छु, मतदाता विवेकी हुनुहुन्छ ।

काठमाडौँमा यसअघि टिकट पाएर पनि जित्नुभएन । जन्म तनहुँ भए पनि खाइखेली तनहुँमा भएन । टिकट ल्याउँदा अलि अप्ठ्यारो जस्तो लागेको छैन ?

तनहुँमा जन्मेका जति सबै जिल्लामै बसिरहेका छैनन् । म यहाँ जन्मेर प्राथमिक शिक्षा यहीँबाट लिएको हुँ । कामको सिलसिलामा बाहिर गए पनि यावत विकासमा म जिल्लामै जोडिएको छु । स्कुल बनाउनेदेखि, करोडौँको आयोजनाहरू जिल्लामा पारेको छु । म आइजिपी रहँदा पनि मेरो बरकतले भ्याएसम्म र अधिकारले पाएसम्म जिल्लाको लागि धेरै गरेको छु । विकास र सुरक्षालाई सामञ्जस्य रूपमा लैजानुपर्छ भनेर योजना बनाएको थिएँ । तनहुँको उत्थान र तनहुँवासीका लागि गर्नुपर्ने काम धेरै थियो, केही गरेको छु । यो गर्नु मेरा लागि धर्म हो । जन्मेको ठाउँ त सबैलाई माया हुन्छ होइन र ?

यसपालिको प्रतिस्पर्धा निकै कडा हुने देखिन्छ । जित्न सकिएला त ?

प्रतिस्पर्धा भन्छन्, कडा हुनु स्वाभाविक हो । तर म यहीँको मान्छे हो । कतैबाट आयात भएको नेता होइन । यहाँका समस्या बुझेको छु, भूगोलमा खेलेको छु । चीरपरिचित छु । म त्यो ठाउँमा पुगेँ । मन्त्रालयहरूसँग सहकार्य गरेर धेरै नै काम गरेको छु । सांसद बनेपछि झनै सर्वोत्कृष्ट बनाउन सक्छु भन्ने भावना छ । कसैले व्यक्तिगत लाभ प्राप्तिका लागि विभिन्न देश जानुभयो होला । म त यो देशको झण्डा फरफराउनका लागि काम गरेको छु । राष्ट्रियताको शान बढाउन काम गरेको छु । मेरा प्रतिस्पर्धीहरू धेरै गर्छु भनेर आउनुभएको छ तर गर्नुभएको के छ ? आफूलाई चाहिँदा आउने र पछि हराउनेलाई जनताले चिन्नुहुन्छ । मतदाता विवेकी हुनुहुन्छ । स्थानीय समस्यालाई राष्ट्रियकरण गर्न र नीति नियम बनाउन भएका उम्मेदवारमध्ये उत्कृष्ट मान्नुहुन्छ, जनताले । मलाई लाग्छ, जित सुनिश्चित छ ।

प्रहरीको सर्वोच्च पदमा पुगेको मान्छे । फेरि के नपुगेर राजनीतिमा लाग्नुभयो ?

एकदम राम्रो प्रश्न गर्नुभयो । हिजो सीमित अधिकारहरू थिए । प्रहरी महानिरीक्षकको हिसाबले शान्ति स्थापना गर्ने र अपराध रोकथाम गर्ने काम थियाे । भ्रष्टाचार, ढिलासुस्तीविरुद्ध पनि खरो उत्रिएँ । विकास मन्त्रालयहरूसँग साझेदार गरेर विभिन्न अपराध ठाउँहरूमा छापा हानेको छु । कानुन कार्यान्वयन गर्नका लागि पूर्ण सहयोग गरेको थिएँ । अब विकासमा लाग्नुपर्नेछ । यहाँ बजेट व्यवस्थापन गर्नुपर्ने, आयोजनाको खोजी र सम्बोधन गर्ने हो । नीतिगत तहमा नै यसलाई जोड्न म यता आएको हुँ । भूमिका जे भए पनि मेरो खास बाटो भनेको देशको उन्नति र तनहुँ क्षेत्रको विकास नै हो । नपुगेर आएको होइन, अहिलेसम्म जिल्लाको दुरावस्था देखेर दुःख लागेको छ । यसलाई मैले नै सम्बोधन गर्नुपर्छ भनेर लागेको हुँ । राजनीति भनेको देशलाई नै सञ्चालन गर्ने हो नि । यसमा आउनुको त्योबाहेक अरू कारण कुनै छैन ।

सुरक्षा प्रशासन बुझेकाे मान्छे कसैलाई तह लगाउन पाे राजनीतिमा आउन लाग्नु भएकाे हाे कि ?

प्रहरीमा म कसैको संरक्षण गर्न गएको होइन । बदमासहरूलाई तह लगाउन गएको हो । राजनीतिमा आउनुको पनि मेरो आफ्नै मूल्य मान्यता छ । मान्यता बेचेर राजनीतिमा बस्दिनँ । जुन ठाउँमा सेवा पाउनुपर्ने हो, नागरिकले पाएका छैनन् । मैले हिजो कमाएको मान र सम्मानलाई धुलोमा मिलाउने चाहना कसको हुन्छ र ? मेरो हिजोको छविलाई धमिलिन दिने छैन । तपाईँले त्यस्तो देखेको दिनमा र प्रमाणित भएको दिनमा म राजनीतिमा रहने छैन, यो मेरो बाचा हो । आम नेपालीको शानको रूपमा प्रस्तुत हुन्छु ।

निर्वाचनको हिसाबकिताब गर्नुभएको छ ?

गरेको छु । प्रतिस्पर्धामा को आयो भन्ने मलाई कुनै मतलब छैन । मैले जनतालाई मेरा एजेण्डा सुनाउँछु । म सधैँ जनतालाई नागरिकलाई शीरमा राखेर हिँड्ने मान्छे हुँ । म सार्वजनिक रूपमा नै समुदायमै घुलमिल हुने गरी आएको छु । मै हुँदा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेँ । अहिले आउँदा को आउनुभयो, उहाँहरूको जागिरको दर्वियानमा आफ्नो विकास गर्नुभयो होला । देशका लागि कति गर्नुभयो भन्ने जनताले बुझ्छन् । मैले गरेका काममा अरूको तुलना होला र ? अर्थतन्त्र कसरी विकसित गर्न सकिन्छ भनेर निरन्तर लागिरहेको छु । जिडिपी बढाउने मात्रै होइन, सामुदायिक उत्थान पनि निकै ठुलो कुरा हो । हिजोका राम्रा अभ्यासलाई निरन्तरता दिने र केही सुधारेर जानुपर्छ ।

गठबन्धन पनि तपाईँका लागि भारी पो हुने हो कि ?

गठबन्धन नागरिकले बुझिसकेका छन् । नेतृत्वले यसो गर भन्दैमा, निर्देशन दिँदैमा मतदाता चल्दैनन् । अब आदेश दिएर चल्दैन । म जस्तोसुकै चाहनाले भिड्न र गर्न सक्नेछु । कुनै पनि राजनीतिक दलबाट राम्रो उम्मेदवार पाए जनताले निर्वाचित गराउने छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्या समेत चिर्न सक्ने रूपमा म उपस्थित भएको छु । गठबन्धन कुन निष्ठाले भएको छ ? सरकार निर्माणका लागि मात्रै अंकगणित मिलाइरहने हो कि मुलुकको समृद्धि र नागरिक सर्वोच्चताका लागि काम गर्ने हो ? यी मुद्धाहरु लिएर जनतासँग जाने छु । म एमालेबाट उम्मेदवार भए पनि आम तनहुँवासीको साझा भावना लिएर प्रस्तुत हुनेछु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *