संसदलाई कुरा हैन, काम गर्ने थलो बनाउनुपर्छ : सांसद दाहाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पुराना नीति, योजना र कार्यक्रमहरुबाट राष्ट्रको नयाँ आवश्यकता पूरा गर्न नसकिने बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहाले पुरानो सोच, चिन्तन र दृष्टिकोणबाट देशको नयाँ आवश्यकता पूरा गर्न नसकिने बताएका हुन् । उनले पुराना नीति, योजना, कार्यक्रम र बजेटबाट नयाँ आवश्यकता पूरा नसकिने भन्दै त्यसमा नयाँपन खोज्नुपर्ने बताए ।
उनले संसद जनताको आवाज बोल्ने थलो मात्रै नभई जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा गर्ने थलो भएको पनि बताए । सांसद दाहालले संसदलाई कुरा गर्ने थलोको रुपमा नभई काम गर्ने थलोको रुपमा रुपान्तरण गर्नुपर्ने बताए ।
उनले भने– ‘संसद जनताको आवाज बुलन्द गर्ने मात्रै थलो होइन । संसद जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा गर्ने थलो पनि हो । काम गर्ने थलो हो । कुरा गर्ने थलोलाई काम गर्ने थलोमा रुपान्तरण गर्नैपर्छ ।’
सांसद दाहालले सरकारको सय दिन प्रधानमन्त्रीले प्रतिवद्धता गरे अनुरुप नै चलेको बताए । उनले जनताको दैनिकीसँग सम्बन्धित स–साना समस्या समाधान गर्न सरकार केन्द्रित रहेको उनको भनाइ छ । त्यस्तै आर्थिक सूचकांकमा पनि सकारात्मक सुधार आएको उनले बताए ।