दुर्गा प्रसाईंले भने- ढाकाकुमारले अडियो मेरो होइन भनेर प्रमाणित गरे उनको ड्राइभर बस्न तयार छु

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले घुसको डिल गरेको अडियो सार्वजनिक भएपछि आरोपी ढाकाकुमार श्रेष्ठले उक्त अडियो आफ्नो नभएको प्रतिक्रिया दिएका छन् । मिडियाहरूमा उनले उक्त अडियो आफ्नो नभएको बताएका हुन् । लगत्तै दुर्गा प्रसाईंले उक्त अडियो उनकै भएको बताएका छन् ।

‘ढाकाकुमार श्रेष्ठले मेरो आवाज होइन भनेर प्रमाणित गर्छन् भने म उनको गाडी चलाउने ड्राइभर बस्न तयार छु । तर उसले भन्नुर्यो । दक्षिणकालीमा छिरौँ, कालो बोको काटेर । यो भन्दा ठुलो अपराध के हुन्छ ?,’ उनले भने ।

प्रसाईंका अनुसार घुस माग्नका लागि श्रेष्ठ आफैले प्रसाईंलाई फोन गरेका थिए ।

‘उहाँले आफै सम्पर्क गरेको हो । कुरा भएको सत्य हो । बेलुका उहाँले कुरा गर्नुभएको थियो, बिहान मैले पछि गफ गरेँ । उहाँले चिन्दिन भनेर धर पाइँदैन नि । मैले पनि चिन्दिन थेँ,’ उनले अघि भने, ‘हामीले स्वास्थ्य मन्त्रालय पाउने वाला छौँ सल्लाह गरौँ भनेपछि कुरा गरेको थिएँ । उहाँले अरूसँग पनि पैसाको कुरा गर्नुभएको रहेछ ।’

अरू सांसदहरूसँग पनि आफूले कुरा गरेको भन्दै प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै पैसा लिएर मन्त्री बनाएको आरोप लगाएका छन् ।

‘एउटा सांसद र मन्त्री बन्नका लागि यत्रो पैसा पार्टीका मान्छेलाई तिर्नुपर्छ ? त्यतिखेरको शिक्षा मन्त्रीलाई पनि धेरै पैसा दिने भएपछि मन्त्री बनाइएको पुष्टि हुन्छ,’ उनले थपे, ‘तोसिमा कार्की र रवि लामिछानेहरूको नाम लिएर प्रेम आचार्यले आत्मदाह गरेका छन् । त्यो घटना अहिले आएर पुष्टि हुँदैन र ?’

उनले रवि लामिछानेले १५–२० जना मान्छेलाई कम्प्युटरमा राखेर सामाजिक सञ्जालमा आफू विरुद्ध बोल्नेलाई गाली गर्न राखेको आरोप लगाउँदै यसरी जितेको चुनावको कुनै तुक नहुने बताए ।

‘रविले गाली गर्ने मान्छे राखेर चुनाव जिते पनि कुनै अर्थ छैन । जो आए पनि त्यही हो, बरु मतदाताहरूलाई चुनावमा भागै नलिनुस् भन्छु,’ उनले भने । आफ्नो डिल भने रास्वपाले शिक्षा मन्त्रालय लिएपछि बन्द भएको उनले सुनाए ।

‘रास्वपाले स्वास्थ्य पाएन, शिक्षा पाएपछि च्याप्टर नै क्लोज भयो । यो मात्रै होइन, अरू सांसदहरूको पनि रेकर्ड मसँग छ । रास्वपाकै सांसदले गरेका कुरा मसँग छन्,’ उनले भने । प्रसाईंको अर्को आरोप पनि रवि माथि छ ।

‘सीधा कुरा कार्यक्रम चलाउँदा झापा आएर पैसा लैजानुहुन्थ्यो । यो कुरा त्यति बेला भन्दा मलाई गाली गरे । अहिले त्यो कुराको पनि प्रमाणित भएको होइन र ?’ प्रसाईं आफैँले श्रेष्ठसँग गरेको कुराकानी सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *