वैचारिक योद्धाहरू जन्माउने कारखाना बन्द नगर !

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) लाई विद्यार्थी आन्दोलनको अवच्छिन्न उत्तराधिकारी संस्थाको रूपमा लिइन्छ । स्ववियु संस्था, वैचारिक योद्धाहरू जन्माउने कारखाना पनि हो । स्ववियु निर्वाचनबाटै राष्ट्रियताका पहरेदारहरू र जनजीविकाका पक्षमा फरक विचार राख्नसक्ने वैचारिक विद्यार्थी नेता उत्पादन हुन्छ । तसर्थ विद्यार्थी हकहित र शैक्षिक रूपान्तरणको पनि मूल अभियन्ता जन्माउने चुनाव पनि हो स्ववियु निर्वाचन । तर पछिल्लो समय स्ववियु कमजोर बन्दै गएको छ,बनाइँदै छ । जस कारण सिंगो विद्यार्थी आन्दोलन नै कमजोर भइरहेको छ ।

लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन चैत्र ५ गतेलाई तोकियो तर राजधानीकै ठुला क्याम्पसमा समेत स्ववियु निर्वाचन हुन सकेको छैन । पछिल्लो समय हुर्किरहेका युवाहरूलाई विचार, आन्दोलन, चेतना र समाजसँग जोड्ने जुन जिम्मेवारी विद्यार्थी र स्ववियु आन्दोलनलाई थियो, तर सीमित विद्यार्थी नेताको स्वार्थका कारण त्यो जिम्मेवारीबाट विद्यार्थी सङ्गठनहरू पछि हट्न खोज्दै छन् । समयमा नै स्ववियु निर्वाचन गराउँदै त्यसलाई विद्यार्थीमाथि स्थापित गराउने कुरामा नराम्रोसँग चुक्न खोज्दै छन् । यसरी लामो समय सम्म स्ववियु निर्वाचन हुन नसके विद्यार्थीको जमातले वैचारिक नेतृत्व पाउने छैन । सरकारबाटै र केही विद्यार्थी संगठनहरुका समिति स्वार्थका कारण मात्रै स्ववियु निर्वाचन नहुनु दु:खद् छ । सरकारकै कारण विचारहीन, सिद्धान्तहीन, अराजक शैली भएका गैरराजनीतिक पृष्ठभूमिबाट आएका तत्त्वहरूले विद्यार्थी आन्दोलन कै सबैभन्दा लज्जास्पद परिदृश्य देखाउँदै छन् ।

स्ववियु निर्वाचन मात्रै होइन, आज विद्यार्थी आन्दोलनको वर्तमान अवस्था पनि विचलित छ । वैचारिकता र आन्दोलन केन्द्रीकृत गर्ने कुनै एउटा निर्दिष्ट उद्देश्य बनेको छैन । राजनीतिक वैचारिक जागरणको जगमा उठेको विद्यार्थी आन्दोलनमा आज त्यस्तो राजनीतिक जागरण, जाँगर र बलिदानीको कुनै गुन्जायस पनि भेटिँदैन । बरु वैचारिक योद्धाहरू जन्माउने कारखाना बन्द गरेर विद्यार्थीको आन्दोलनको औचित्य समाप्त गर्ने काम हुँदै छ । नेपालमा लोकतन्त्रका लागि र संविधान रक्षाका लागि रगत र ज्यानको बलिदान दिएका विद्यार्थी संगठनहरु सीमित स्वार्थका कारण पार्टी नेतृत्वसँगै सती जानुहुँदैन ।

अब के गर्ने ?
मुलुकको आमूल परिवर्तनका लागि र विद्यार्थीको हक हितका लागि लड्ने विद्यार्थी आन्दोलनको औचित्य आज पनि उत्तिकै छ । औचित्यहीन बन्दै गएको विद्यार्थी आन्दोलनलाई नयाँ ढङ्गबाट उठाउनका लागि नयाँ तरङ्गहरू पैदा गर्न आवश्यक छ । पहिलो हो– सैद्धान्तिक पक्ष । आजको समाज र त्यसको चरित्र के हो ? हामीले प्राप्त गर्न खोजेको लक्ष्य के हो ? निर्धारण गरौँ । त्यो लक्ष्य हासिल गर्नका लागि हामीले हाम्रै तर्फबाट पहल कदम चालौँ । दोस्रो पाटो भनेको विद्यार्थी आन्दोलनलाई शैक्षिक आन्दोलनका पक्षमा, राष्ट्रियताका पक्षमा, समाजको जनजीविकाको पक्षमा आम रूपमा सङ्गठित गर्ने हो । तेस्रो विद्यार्थी आन्दोलनलाई त्यो उद्देश्यका लागि परिचालन गर्ने हो, त्यसका लागि सङ्गठित हुनुपर्छ ।

विद्यार्थी सङ्गठनका नेताहरूले आफ्नो सङ्गठनको साख यावत रहेको बताए पनि यो दाबीमा सत्यभन्दा झुट नै ज्यादा देखिन्छ । बरु कमीकमजोरीको बेलैमा समीक्षा गरी विद्यार्थी आन्दोलनको ओज र गरिमालाई थप उजिल्याउन आजैको मितिबाट प्रयत्न थाल्नु श्रेयस्कर हुन सक्छ । विद्यार्थी भविष्यका देश सञ्चालक हुन भन्ने कुरालाई गम्भीर रूपमा महसुस गर्नु जरुरी छ ।

लाखौँ विद्यार्थीहरूले पाउनुपर्ने शैक्षिक अधिकारको लागि लड्नुपर्ने विद्यार्थी सङ्गठनहरू एक आपसमै लड्दै अस्तित्व रक्षाको लागि सङ्घर्ष गरिरहेको यो उदेकलाग्दो दृश्यको अन्त्य छिटो होस् । स्ववियु निर्वाचन हुन बाँकी रहेका क्याम्पसहरूमा छिटोभन्दा छिटो स्ववियु निर्वाचन होस् । (लेखक श्रेष्ठ आरआर क्याम्पसको स्ववियु सदस्य पदकी उम्मेदवार हुन् ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *