भासिएको समिटमा चौधरी समूहको हिस्सा ३० प्रतिशत मात्रै
काठमाडौँ । ललितपुरको सानेपामा निर्माण भइरहेको ‘द समिट होटल एण्ड रेसिडेन्सेस्’मा चौधरी समूहले आफ्नो हिस्सा ३० प्रतिशत मात्रै रहेको स्पष्टीकरण दिएको छ । उक्त निर्माणाधीन होटलका कारण वरपरका घरहरु भासिएका कारर्ण चौधरी समूहको आलोचना हुन थालेपछि उसले यस्तो स्पष्टीकरण दिएको हो । चौधरी समूहको सीजी डेभलपर्सले उक्त होटल तथा आवास निर्माण गरिहेको थियो ।
उक्त परियोजनामा सीजी डेभलपर्सको ३० प्रतिशत र बाँकी ७० प्रतिशतको साझेदारीमा एनई ग्रुपका रविभक्त श्रेष्ठ, अमृतरत्न शाक्य, सुवर्णकृष्ण श्रेष्ठ, सञ्चित श्रेष्ठ र उनको परिवारको रहेको बताइएको छ ।
चौधरी ग्रुपले उक्त परियोजनाको सञ्चालन तथा व्यवस्थापनको जिम्मा समेत आफूमा नरहेको जनाएको छ । उक्त परियाजनाको व्यवस्थापन सञ्चित श्रेष्ठले गरिरहेको जनाएको छ ।
सिजी डेभलपर्सका अध्यक्ष राहुल चौधरीले एक विज्ञप्ति जारी गरी यस्तो जनाएका हुन् ।
‘समिट होटलले अगाडि बढाउन लागेको समिट रेसिडेन्सी परियोजनाको व्यवस्थापन एवं संचालनको जिम्मेवारी संचित श्रेष्ठले लिनु भएको छ। त्यसैले यस परियोजनाको निर्माणक्रममा सीजी डेपलपर्स व्यवस्थापन र संचालनमा संलग्न नरहेको हामी जानकारी गराउँदछौँ,’ सिजी डेभलपर्सका अध्यक्ष राहुल चौधरीद्वारा जारी जारी विज्ञप्तिमा भनिएको छ ।
सीजी डेभलपर्सले काठमाडौं रेसिडेन्सी, सीजी हिल्स, माउण्ट भ्यू रेसिडेन्सी (फेज १, २ र ३) निर्माण गरिसकेको छ। साथै ललितपुरको भैँसेपाटीमा सीजी हिल्समा निर्माण गरिरहेको विज्ञप्तिमा जनाइएको छ ।
‘यी परियोजनाको व्यवसायिक व्यवस्थापन र सञ्चालन सीजी डेभलपर्सले गर्छ । सीजी डेभलपर्सले विकास गरेका परियोजना प्रतिष्ठित छन् र ती परियोजनाले नेपालको रियल इस्टेट क्षेत्रमा छुट्टै पहिचान स्थापित छन्,’ विज्ञप्तिमा उल्लेख छ ।