सिन्धुलीमा कार खस्दा चार भारतीयको मृत्यु, शव निकाल्न सेनाको सहयोग मागियो

सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटना गएराति साढे १२ बजेतिर भारतीय नम्बर प्लेटको बीआर०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ ।

कारमा पाँच जना सवार थिए । मृतक चारै जना पुरुष रहेका छन् । मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरू तीन पुरुषको शव घटनास्थलमै रहेको सिलवालले जानकारी दिए । राजमार्गको भिर भएको स्थानमा कार सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।

भिरमा जान सहज नभएका कारण शव निकाल्न सकिएको छैन । ‘त्यहाँ पुग्नै एक घण्टाभन्दा बढी समय लाग्छ, शव कसरी निकाल्ने भन्ने समस्या छ,’ उनले भने । शव निकाल्न नेपाली सेनासँग सहयोग मागिएको र सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी उपरीक्षक सिलवालले बर्ताए । कारमा सवार पाँचै जनाको परिचय खुल्न सकेको छैन । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *