मल कारखाना स्थापनाबारे अध्ययन गर्ने दुई कम्पनीको प्रस्ताव स्वीकृत
काठमाडौँ । लगानी बोर्डले रासायनिक मल कारखाना स्थापना गर्न आवश्यक अध्ययनका लागि अनुमति मागेका दुई कम्पनीको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा बसेको बोर्डको ५३औँ बैठकले यस्तो निर्णय हो ।
बोर्डको ५०औँ बैठकको निर्णयानुसार डीआईएजी इन्डिस्ट्रिज जीएमबीएच जर्मनीले रासायनिक मल कारखाना स्थापनाको अध्ययन अनुमति लिन पेश गरेको प्रस्ताव अनुसार विकासकर्तासँग सम्पन्न गरिने समझदारीपत्रको मस्यौदालाई बैठकले स्वीकृत गरेको छ ।
त्यस्तै, डाबर नेपालको पूँजी तथा क्षमता वृद्धि परियोजना कार्यान्वयनका लागि सम्पन्न गरिने समझदारीपत्रको मस्यौदा पनि बोर्डले स्वीकृत गरेको छ ।
यसैगरी ग्रिन क्याल्सियम एमोनिया नाइट्रेट(सीएएन) मल उत्पादन गर्न अध्ययन अनुमतिका लागि मलेसियाको रे निकोला होल्डिङ्स एसडीएन बीएचडीले पेश गरेको प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ।
मन्त्रिपरिषद्को निर्णयानुसार पश्चिम सेती र सेती नदी–६ जलविद्युत् परियोजनाको विकासका लागि एनएचपीसी लिमिटेड इन्डियासँग भएको समझदारीपत्रका व्यवस्था अनुरूप प्रारम्भिक अध्ययन प्रतिवेदनका सम्बन्धमा विकासकर्ताले गरेका कार्यहरुको जानकारी लिँदै विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न निर्देश गरेको छ ।
त्यस्तै बोर्डले तमोर जलाशययुक्त परियोजना, लजिष्टिक परियोजना र भेहिकल म्यानुफ्याक्चरिङ एसेम्ब्ली प्लान्टको प्रगतिबारे जानकारी लिएको छ ।
बोर्ड बैठकले २०८० सालमा आयोजना गर्न लागिएको लगानी सम्मेलनको अवधारणापत्र स्वीकृत गर्नुका साथै सम्मेलन सफलतापूर्वक आयोजना गर्न आवश्यक पूर्वतयारीका लागि लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिएको छ ।
वैठकमा बोर्ड कार्यालयले परियोजना विकासका सम्बन्धमा गरेका प्रगति बारे बोर्ड कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराएका थिए ।
बैठकमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्री, सरकारका मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, बोर्डका विज्ञ सदस्यलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।