दुवै खुट्टा गुमाएका बुढामगर भन्छन्- ‘नेपालको पहिचानलाई विश्वमाझ पुर्याउन सगरमाथा आरोहण’
संसारमा गर्न नसकिने कुरा केही छैन तर आत्मबल र आत्मविश्वास भने अवश्य चाहिन्छ । आत्मविश्वास र आत्मबलका पर्याय हुन् हरि बुढामगर । पूर्व गोरखा सैनिक समेत रहेका उनका दुवै खुट्टा छैनन् ।
अहिले बुढामगर विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न आधार शिविर गइसकेका छन् । बेलायती सेनामा कार्यरत रहेका बेलामा सन् २०१० मा अफगानिस्तानको लडाइँमा उनले दुवै खुट्टा गुमाए । शारीरिक अशक्तता भएरपनि बुढामगर सगरमाथा आरोहण गर्ने उत्कट चाहना पूरा गर्न सगरमाथा आरोहणका लागि तयार भएका हुन् । विभिन्न खेलमा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा समेत विजय प्राप्त गरेर अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुलेका मगरले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेपालको पहिचानलाई विश्वमाझ पु-याउनका लागि सगरमाथाको आरोहण गर्न लागेको बताए । आफूले सगरमाथा आरोहणमार्फत विश्व कीर्तिमान राख्न चाहेको उनको भनाई छ ।
उनले दुवै खुट्टा नभएका व्यक्तिले हालसम्म सगरमाथा आरोहण नगरेको भन्दै आफ्नो आरोहणले विश्व कीर्तिमान राख्ने र आम मानिसहरूलाई गौरवान्वित बनाउने बताए । उनले भने, ‘हामी अपाङ्ग व्यक्ति पनि मेरो खुट्टा कमजोरी होला । कसैको हात कमजोरी होला । कसैको आँखा कमजोरी होला । त्यो भन्दैमा हामी केही गर्न सक्दैनौँ भन्ने कुरा होइन क्या । सबैको कमजोरी छ । सपाङ्ग व्यक्तिको पनि कुनै न कुनै आफैँ कमजोरी होला । विद्यार्थीहरू पनि कोही गणितमा कमजोरी होला, कोही अंग्रेजीमा कमजोरी होला । म एसएलसीमा फेल भएर मौका परीक्षा दिएको मान्छे । कुनै न कुनै कुरामा हाम्रो कमजोरी छ । त्यो भन्दैमा हाम्रो स्ट्रेन्थलाई फोकस गर्नुपर्छ । हामी अपाङ्ग व्यक्तिहरू पनि एउटा सफल जिन्दगी, अर्थपूर्ण जिन्दगी बिताउन सक्छौँ । त्यो एउटा सन्देश दिलाउनु हो । त्यसको साथसाथै सगरमाथा आरोहणको मुख्य सन्देश एउटा विश्व कीर्तिमान हुन्छ । जसले नेपाल र नेपालीलाई गौरवान्वित बनाउँछ जस्तो लाग्छ । नेपालीहरूको स्प्रिट देखाउँछ जस्तो लाग्छ मलाई । आशा छ यसले कुनै न कुनै व्यक्तिहरूलाई कुर्सीबाट उठेर एक, दुई पाइला मात्र हिँड्न लाग्यो भने जिन्दगीमा पाइला मात्र अगाडी सार्न प्रेरणा दियो भने म एकदम खुसी हुनेछु । उनीहरूको आफ्नै सगरमाथा होला, कसैलाई व्यापारिक सगरमाथा होला, कसैलाई जागिरको सगरमाथा होला । कसैलाई विवाह गर्नेको सगरमाथा होला । कसैलाई बच्चा जन्माउने सगरमाथा होला । कसैलाई कुनै न कुनै जिन्दगी सुधारको सगरमाथा होला । त्यसलाई मैले सानो प्रेरणा दिन पाए भनेपनि मेरो लागि ठूलो उपलब्धि हुनेछ । मैले नेपाल र संसारलाई म आरोहणमार्फत सर्भिस दिन चाहन्छु । मेरो मुख्य उद्देश्य नै त्यो हो । मेरा उद्देश्यमध्ये यो एउटा चिज हो । सगरमाथा मेरो अन्तिम चिज होइन । सगरमाथा हाम्रो देशमा छ । म सानैदेखि प्रेरित भएको हो यो सगरमाथा सम्बन्धी ।’
बुढामगरले हरेक मानिससँग केही न केही कमजोरी भएपनि जीवनमा केही गर्न नसक्ने भन्ने नहुने बताए । उनले हीनताबोध त्यागेर आफ्नो शक्तिलाई केन्द्रित गर्नसके जस्तोसुकै सफलता पनि हात पर्ने बताए । आफ्नो सगरमाथा आरोहणले जीवनको कुनै न कुनै सगरमाथा चढिरहेका आम मानिसहरूलाई प्रेरणा दिने उनको भनाई छ । सगरमाथा नेपालको पहिचान र शिर भएको भन्दै यसको प्रचारलाई अझ व्यापक बनाउन आफ्नो योगदान रहने उनले उल्लेख गरे ।
आफ्नो सम्पूर्ण बाल्यकाल देशमै बितेको उल्लेख गर्दै बुढामगरले देशलाई पनि केही दिनुपर्छ भन्ने मनसायका साथ सगरमाथा आरोहण गर्न लागिएको बताए । उनी भन्छन्, ‘सगरमाथा म १९ वर्षसम्म यहीँ जन्मिएको । यहीँ हुर्किएको । विदेशमा जाँदा, काम गरिराख्दा कुनै न कुनै मनको कुनामा चाहिँ के लाग्छ भने म १५ वर्षसम्म ब्रिटिस सरकारको लागि काम गरेँ । मेरो दुईवटा खुट्टा पनि दिएँ । मेरो अरू समय दिएँ । मेरो आधा युवावस्था दिएँ । तर मैले मेरो देशलाई के दिएँ त ? भन्ने कुरा जहिल्यै पनि मनमा परिराख्ने । मैले सर्भिस गर्दापनि जहिल्यैपनि हामीलाई परिराख्थ्यो । देशलाई कसरी पब्लिक सेवा दिन सकिन्छ भन्ने मैले सोचिराखेको थिएँ । त्यो गर्दाखेरी म आफैँ अपाङ्ग भएर, आफैँ सङ्घर्षशील भएको कारणले यसको सचेतना कत्तिको जरुरी छ, भनेर मैले बुझेको छु । सचेतना अपाङ्ग भएको व्यक्तिलाई मात्र जरुरी छैन । उसलाई साथ दिने परिवारलाई पनि कसरी सहयोग गर्नुपर्छ भन्ने एउटा सचेतना जरुरी छ । सरकारलाई पनि यिनीहरूलाई कसरी सहयोग गर्नुपर्छ भन्ने कुरा जरुरी छ ।’
तत्कालीन रोल्पा निरुल गा.विस. हालको थवाङ गाउँपालिकामा जन्मिनुभएका बुढामगरले आफ्नो जीवनको बाल्यकाल १९ वर्षसम्म रोल्पामै बिताए । कक्षा ५ सम्मको प्रारम्भिक शिक्षा गाउँकै विद्यालयमा पढ्नुभएको उहाँले कक्षा ६ र ७ मा रोल्पाकै कोर्चवाङमा पढेको हुन् । त्यसपछि सदरमुकामबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका उनी बुबाको सपना बमोजिम १९ वर्षको उमेरमा बेलायती सेनामा भर्ती भए । उनले बुबाको सपना पूरा गर्न र अग्रजहरुलाई देखेर पनि बेलायती सेनामा भर्ती भएको बताए । तत्पश्चात् १५ वर्षसम्म विश्वका विभिन्न देशहरूमा शान्ति स्थापना र विभिन्न सैन्य मोर्चाहरूमा सामेल भएका बुढामगरको सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमेको थियो ।
त्यसपछिको दुई वर्ष २ वर्ष रक्सीको कुलतमा परेको र आत्महत्या गर्ने सोच समेत पलाएको उनी भन्छन् । स्की, कायाकिङ, ह्वीलचेयर टेबल टेनिस, आर्चरी, इम्पिटि फुटबल, सिटिङ भलिबल लगायतका खेलमा विभिन्न मेडलसमेत जितेका बुढामगर दृढ इच्छाशक्ति भएमा सबै खालका गतिविधि गर्न सकिने बताउँछन् । अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजले हेर्ने धारणामा परिवर्तन हुनुपर्नेमा उनी जोड दिनुहुन्छ । परिवारले समेत अपाङ्गता भएका परिवारका सदस्यलाई बाहिर निस्किने वातावरण नबनाइदिने भन्दै त्यसो गर्नु नहुने उनले बताए । अपाङ्गमैत्री संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिहरूलाई समस्या परिरहेको भन्दै बुढामगरले सबै संरचनाहरू अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिए । सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गरेर आत्मनिर्भर बनाउनुपर्ने उनको भनाई छ ।
राज्यले दया, माया होइन अवसर दिनुपर्नेमा उनले जोड दिए । ‘नेपाल सरकारले के गर्नुपर्छ भने कसरी अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गरेर, आत्मनिर्भर बनाएर जति पनि काम गर्न सक्नुहुन्छ, उहाँहरूलाई सामान्य नागरिकलाई जस्तो ट्रिट गर्नुप-यो । सहयोग गर्नुपर्छ ता कि उनीहरूले पनि काम गर्न सकुन् । व्यापार गर्न सकुन् । उनीहरूले पनि आफूले मनले चाहेको जे छ त्यो गर्न सकुन् न । उनीहरूलाई आत्मनिर्भरतामा सहयोग गर्नसक्यो भने देशको आर्थिक स्थितिको विकासमा फड्को मार्छ । अपाङ्गता भएका व्यक्तिहरूलाई धेरै दया, माया भन्दा पनि अवसर दिनुपर्छ’ बुढामगर भन्छन् ।
केही दिनमै सगरमाथा आरोहणको लागि यात्रा तय गर्न लागेका उनले सरकार समक्ष सहयोग गर्न नसकेपनि बाधा, अड्चन नबनाइदिन आग्रह गरेका छन् । यसअघि पनि बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका थिए । २०१७ मा मेरा चुचुरो आरोहण गरेका उनी ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथि (दुवै अंगविच्छेदन) डबल एम्प्यूटी गर्ने बने । उनको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन १९७९ मा भएको हो । यसअघि पनि बुढामगर सगरमाथाको आधारशिविरसम्म पुगिसकेका थिए ।