वायु प्रदुषण बढ्याे, विज्ञ भन्छन्– अनिवार्य मास्कको प्रयोग गरौँ, धुवाँधुलो नबढाऔँ
काठमाडाैँ । काठमाडौँ विश्वकै बढी प्रदुषण हुने शहरमा पहिलो नम्बरमा पुगेपछि विज्ञहरुले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यु एयरले काठमाडौंलाई संसारकै प्रदुषित शहरको सूचिको पहिलो स्थानमा राखेको हो । शनिबार साँझबाट काठमाडौँ संसारमा नै बढी प्रदुषण भएको शहरमा पहिलो, दोस्रो र तेस्रो स्थानमा घटबढ भइरहेको छ ।
वायु प्रदुषण बढिरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरुको सुझाव छ । पछिल्लो समय वनमा लागेको डढेलो, भारतको उत्तरप्रदेशमा बालिएको गहुँको भुसको धुवाँको असर काठमाडौँसहित नेपालका विभिन्न शहरहरुमा परेको विज्ञहरुले बताएका छन् ।
जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले वागमती प्रदेश र वरपरको वनको आगलागीका कारण काठमाडौं प्रदुषित शहरमा पहिलो नम्बरमा परेको बताउनु भयो । उहाँले प्रदुषण बढ्नुमा आगलागी र सडकको धुवाँधुलो प्रमुख कारण रहेको बताए । विज्ञ उप्रेतीले नेपालमा अहिले पश्चिमी वायुको प्रभाव कम रहेकाले पनि हावा वहन नपाएको र हावा नबहँदा उपत्कामा प्रदुषण बढेको बताउनु भयो । आजबाट नै पश्चिमी वायु नेपालमा प्रवेश गर्ने भएपनि प्रदुषण हट्न भने अझै केही दिन लाग्ने बताए । उनले अहिले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले तोकेको भन्दा २२ गुणा बढी प्रदुषण काठमाडौँमा रहेको उल्लेख गरे ।
जलवायु तथा विपद् विज्ञ उप्रेतीले प्रदुषणबाट बच्नका लागि सरकारले आम नागरिकलाई मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्नुपर्ने सुझाव दिए । उनले केही दिनको लागि धुँवा निकाल्ने सवारी साधन र मापदण्ड पालना नगरेका सवारीसाधन सञ्चालन गर्न नदिन सरकारसँग आग्रह गरे ।
उनले सडक निर्माणका क्रममा सडक अलपत्र बनाइँदा धुवाँ र धुलो धेरै भएकाले सडक कालोपत्रे गर्न र कालोपत्रे गर्न नसके सडक भत्काउने काम बन्द गर्नुपर्ने बताए । वायु प्रदुषण्का कारण ब्लड प्रेसर बढ्ने, मुटुको समस्या, क्यान्सर लगायतका समस्याहरु बढ्ने बताए ।