अनियमित विद्युत् कटौतीले व्यवसायी समस्यामा

विराटनगर । उद्योग सङ्गठन मोरङ अनियमित विद्युत् कटौती तत्काल अन्त्य गर्न माग गरेका छन् । पुस महिना देखि भोग्दै आएको विद्युतको अनियमित आपूर्ति, बारम्बार को ट्रिपिङ, लो भोल्टेज, पूर्व सूचना नदिई विद्युत् कटौती जस्ता कारणले व्यवसायीलाई मरणासन्न अवस्थामा पुर्याएको उल्लेख गरिएको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनले लामो समय देखि बजारमा व्याप्त मन्दी, वैंकको चर्को ब्याजदर लगायत आन्तरिक तथा वाह्य कारणले शिथिल बनेको उद्योग व्यवसाय क्षत्रले २०७९ पुस महिनादेखि विद्युतको समस्या झेल्दै आएको जनाएको छ।

‘वर्तमान विषम परिस्थितिमा समेत आन्तरिक बजारको माग र आपूर्तिलाई सन्तुलनमा राख्न, आयातित वस्तु माथिको परनिर्भरतलाई कम गर्न र रोजगारी सिर्जना गर्न सहयोग पुर्याउँदै आइरहेका उद्योग व्यवसाय विद्युत् समस्याका कारण निर्वाध सञ्चालन हुन सकेनन् भने बन्द गरी उद्योगी/व्यवसायी सडकमा आउनु पर्ने अवस्था आएको छ, विज्ञप्तिमा भनिएको छ, त्यसपश्चात् उत्पन्न हुने विकराल अवस्था प्रति गम्भीर हुन सङ्गठन सम्बन्धित निकायमा अनुरोध गर्दछ ।’

विद्युत् आपूर्तिमा आइरहने समस्याका कारण उत्पादन प्रक्रिया ठप्प हुने, कच्चा पदार्थ खेर जाने, मिल मेशिनेरी बिग्रनुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाइ भई अनावश्यक रूपमा सञ्चालन खर्च तथा उत्पादन लागतमा वृद्धि हुँदै गएको संगठनका अध्यक्ष सुयेश प्याकुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ। उत्पादित वस्तुको गुणस्तरमा र प्रतिष्पर्धात्मक क्षमता नै हस् आइरहेको छ, औद्योगिक क्षेत्रकाे निर्वाध सञ्चालनका लागि अत्यन्त महत्त्वपूर्ण कम्पोनेन्टका रूपमा रहेको विद्युत् आपूर्तिलाई कुनै पनि सूचना नदिई एवं विभिन्न कारण देखाई कटौती गरिदिँदा उत्पादन लागतमा हुने वृद्धि केवल उद्योगको मात्र नभई राज्यको नोक्सानीका रूपमा समेत लिई यसतर्फ गम्भीर हुन सरकारलाई आग्रह गरेको छ ।

उद्योग प्रतिष्ठानले विद्युत् आपूर्तिमा आइरहने समस्याका कारण भोग्नु परेको गम्भीर नकारात्मक प्रभावलाई दृष्टिगत गरी विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिको समस्यालाई समस्याको रूपमा लिई यसको उपयुक्त समाधान खोजी विद्युत् आपूर्ति नियमित गरी सहज औद्योगिक वातावरण तयार गर्न संगठनले अपिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *