कोशी प्रदेश र स्थानीय तहबिचको सम्बन्ध व्यवहारिक बनाउन छलफल
मकालु खबर
२०८० वैशाख ४ गते
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश र स्थानीय सरकार बिचको सम्बन्धलाई व्यवहारिक बनाउँदै लग्नुपर्ने बताएका छन् । सोमबार ‘कोशी प्रदेश समन्वय परिषद’को बैठकमा उनले प्रदेश र स्थानीय सरकारबीच कुनै समस्या आएमा त्यसलाई आपसी समन्वयबाटै समाधान गरिने बताएका हुन् ।
उनले प्रदेश र स्थानीय तह बिचको समस्यालाई आमसञ्चार माध्यममा छरपस्ट नपार्न स्थानीय तहबाट परिषद्मा सहभागी भएका पदाधिकारीहरूलाई आग्रह गरे । ‘प्रदेश र स्थानीय दुवै सरकार वित्तीय हिसाबले कमजोर भएकाले आपसमा समन्वय गरेर काम गर्न आवश्यक छ, उनले भने, आगामी वर्षदेखि प्रदेश सरकारको अर्थमन्त्रालय अन्तर्गत राजस्व महाशाखा मार्फत स्थानीय तहसँग समन्वय गरेर काम गर्ने पद्धतिको विकास गर्ने कुरामा प्रदेश सरकारले ध्यान दिने छ ।’
वित्तीय हस्तान्तरण अन्तर्गत सशर्त बजेटमा योजना मात्र नभई क्षेत्र तोकेर स्थानीय तहमा एकमुष्ट बजेट पठाउने कार्कीले जानकारी दिए । परिषद्को बैठकमा सहभागी स्थानी तहका प्रमुख उपप्रमुखहरूले वित्तीय हस्तान्तरण मार्फत आउने सशर्त अनुदानमा योजना नै तोकेर आउने गरेको गुनासो गरेका थिए ।
योजनाहरू दोहोरिने समस्या, न्यायिक समितिमा देखिएको जनशक्ति अभाव लगायतका विषयलाई प्रदेश सरकारले गम्भीर रूपमा लिएको बताए । बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ मा प्रस्तुत हुने वार्षिक नीति तथा कार्यक्रम, प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने कार्यहरूको समन्वय, सहजीकरण अनुगमन, राजस्व सङ्कलन तथा बाँडफाँट, स्थानीय तहका आवधिक योजनाहरू निर्माण, जिल्ला समन्वय समितिको कार्य व्यवस्थालाई थप प्रभावकारी बनाउन समिति गठन गर्ने निर्णय गरेको छ।
समन्वय परिषद्को कामलाई प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू गठन गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले जनाएको छ।
मकालु खबर
२०८० वैशाख ४ गते
प्रतिक्रिया
सम्बन्धित