नेपाललाई मलेसियाले दियो २३६ रनको लक्ष्य
काठमाडौँ । एसिसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले घरेलु टोली नेपाललाई जितका लागि २ सय ३६ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २३५ रन बनायो ।
मलेसियाका लागि कप्तान अहमद फैज र विरन्दीप सिंहले शतकीय साझेदारी गरे । उनीहरुले दोस्रो विकेटका लागि ११६ रनको साझेदारी गरेका हुन् ।
फैजले ९५ बलमा ८ चौका र १ छक्का प्रहार गरी सर्वाधिक ७६ रन बनाए ।
विरन्दीप ९४ बलमा २ चौकाको सहयोगमा ४६ रन बनाए ।
यसअघि ओपनर महम्मद अमिरले १७ रन जोडेका थिए । खिजार हायातले २२, महम्मद वाफिकले २१ र महमद सहादतले १५ रन बनाए । अतिरिक्तबाट १२ रन जोडेको थियो ।
नेपालका लागि भने सोमपाल कामी र सन्दीप लामिछानेले ३/३ विकेट लिए । सोमपालले ९ ओभरमा ४० रन खर्चिएका थिए । सन्दीपले १० ओभरमा १ मेडन राख्दे ४८ रन खर्चिए ।
ललित राजवंशीले १० ओभरमा ३४ रन खर्चिएर २ विकेट लिएका थिए । गुलशन झाले १ विकेट लिए ।