गठबन्धनलाई स्वर्णिमकै त्रास, सबै नेताको एउटै स्वर– विश्व अर्थशास्त्र बुझेको नेता हामीलाई चाहिँदैन
काठमाडौँ । लोकतान्त्रिक बाम गठबन्धनले तनहुँ–१ मा आयोजना गरेको चुनावी विशाल कोणसभामा बोल्ने अधिकांश नेतामा रास्वपाका उम्मेदवार डा. स्वर्णीम वाग्लेको त्रास देखिएको छ ।
नेपाली कांग्रेसका तर्फबाट गठबन्धनका साझा उम्मेदवार बनाइएका गोबिन्द भट्टराईको चुनावी प्रचारप्रसारमा खटिएका नेताहरुले भट्टराई र आफ्ना पार्टीको चुनावी एजेन्डाभन्दा ज्यादा डा. स्वर्णिम वाग्लेको उछित्तो काढ्नमै आफ्नो समय खर्चिएका छन् ।
कोषसभामा बोल्ने अघिकांश नेताले स्वर्णिमको नामै नलिई उनीप्रति कडा टिप्पणी र कटाक्ष गरिरहेका छन् । हरेकजसो नेताले आफ्ना भाषणमा ‘तनहुँको जनता सचेत छन्, बेवकुफ छैनन्’ भन्दै त्यहाँका मतदातालाई ‘बेबकुफ’ नै ठानेर भाषण गरिरहेको पाइएको छ ।
कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थशास्त्रमा विश्व बुझेको नभई तनहुँ १ का जनतालाई गाउँको अर्थशास्त बुझेको नेता चाहिएको बताए ।
उनले भने, ‘तनहुँको माटोलाई बुझेको, तनहुँको भूगोल बुझेको र तनहुँको भूगोलमा हुर्केको मान्छे तनहुँले खोजेको छ ।’ स्मरण गर्नुपर्ने कुरा के छ भने यही गठबन्धनका नेताहरुले भने बारा–२ मा गएर सप्तरीमा जन्मेहुर्केका उपेन्द्र यादवलाई भोट मागिरहेका छन् ।
तर अर्का महामन्त्री गगन थापाले भने यस पटक केही बुद्धि पुर्याएर चुनावी भाषण गरेका छन् । अघिल्लो पटक डा. स्वर्णिमको उछित्तो काढ्न आफूले प्रहार गरेको शब्दबाण आफैँतिर फर्किएपछि उनी यसपटक भने केही संयमित देखिएका हुन् । केही समय अघि उनले स्वर्णिमलाई लक्षित गर्दै भनेका थिए– ‘तिमी पढेर जागिर खाएको मान्छे, म ढुंगा हानेको र ढुंगा खाएको मान्छे ।’ उनको यो भनाइको चौतर्फी आलोचना भयो । माओवादी नेता डा. बाबुराम भट्टराईले समेत अब नयाँ युग अनुसार पढेलेखेकै मान्छे र विज्ञहरु राजनीतिमा आउनु पर्ने बताएका थिए । ढुंगा हान्नु, ढुंगा खानु, प्रहरीको कुटाइ खानु र धेरै वर्ष जेल बस्नुलाई नै राजनीतिक नेताको योग्यता बनाइनु हुँदैन भन्ने आवाज सामाजिक सञ्जालभरि छरस्टिएको थियो ।
त्यही प्रकरणबाट संयमित बनेका गगनले मंगलबार भने स्वर्णिमकै शब्द सापटी लिँदै अब नेपाल केही वर्षपछि बुढ्यौली जनसंख्या धेरै भएको मुलुकको सूचीमा प्रवेश गर्ने बताए । त्यसो हुँदा काम गर्ने समय कम भएको र अबको ५ वर्ष गठबन्धनले नै सरकार चलाउन गोबिन्द भट्टराईलाई मत दिन आग्रह गरे ।
त्यस्तै, एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले तनहुँका जनता बेबकुफ नभएको भन्दै पढेलेखका डाक्टरलाई यहाँका नेताले भोट नहाल्ने ठोकुवा गरे । उनले त तनहुँका जनतालाई कतिसम्म बेबकुफ सम्झिए भने आफैँ कांग्रेस भएको समेत भन्न भ्याए ।
‘तनहुँका जनतालाई बेबकुफ बनाउन पाइन्छ कि भनेर आउन पाइन्छ ? खबरदार,’ उनले भने, ‘तिमी पढेको डाक्टर होस् कि जेसुकै होस् मलाई थाहा छैन । यस पटक किसान श्रेष्ठलाई भोट हाल्नुस्, गठबन्धनलाई भोट हाल्नुस् । किसान श्रेष्ठको चुनाव चिन्ह रुख हो । किसान श्रेष्ठलाई रुख चिन्हमा भोट हालेर गोविन्द भट्टराईलाई विजयी बनाउन आग्रह गर्दछु ।’
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले भने केही इमानदार बनेको पाइएको छ । उनले भने, ‘नेपाली कांग्रेसभित्रको एकतामै देशमा लोकतन्त्र, सुशासन र आर्थिक समृद्धिको विषय निर्भर हुने छ ।’
स्वयं उम्मेदवार गोबिन्द भट्टराईले भने इमानदार कुरा गरे । उनले भने– ‘जसरी मैले हिजो तनहुँमा खानेपानीको तिर्खा मेटाउन नेतृत्वदायी भूमिका निर्वाह गरेँ, त्यसैगरी अब तनहुँको गुणस्तरी स्वास्थ्य, शिक्षा, रोजगारीको तिर्खा मेटाउन पनि नेतृत्वदायी भूमिका निर्वाह गर्ने छु ।’