छिमेकी विद्यालय सुधार गर्ने अभियानमा नमुना विद्यालय
विराटनगर । विराटनगरको पोखरिया माध्यमिक विद्यालय र सहकार ग्रामथानको सरस्वती माध्यमिक विद्यालयले छिमेकी विद्यालयको शैक्षिक गुणस्तर सुधार अभिवृद्धिमा सहयोग गर्न थालेका छन् ।
केही दिन अघि झोराहाटमा रहेको सरस्वती माध्यमिक विद्यालयले नजिकै रहेका अन्य सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि प्रशिक्षण दिएको थियो । शैक्षिक व्यवस्थापक, शिक्षण क्रियाकलाप, शिक्षक एक्सचेन्ज तथा नमुना शिक्षण कार्यलाई नमुना विद्यालयले फिडर विद्यालयहरूलाई प्रशिक्षित गराउँदै आएको विद्यालयका प्रधानाध्यापक आशोक लुइँटेलले जानकारी दिए ।
उनका अनुसार सरस्वती माध्यमिक विद्यालय आसपास रहेका विद्यालयहरूको क्षमता विकास तथा शिक्षण क्रियाकलापलाई प्रभावकारी बनाउनको लगि प्रशिक्षित गर्ने काम हुँदै आएको छ । ‘लिडर स्कुलको नाताले हामीले शिक्षाको गुणस्तर कमजोर भएका विद्यालयहरूको सुधारको काम गर्नु पर्ने हाम्रो पनि दायित्व भित्र पर्यो,’ उनले भने, ‘नजिकका विद्यालयका शिक्षाको गुणस्तर सुधार नहुँदा नमुना विद्यालयको गुणस्तर सुधारमा पनि केही असर पर्ने देखिन्छ, फिडर विद्यालय क्षमता अभिवृद्धि हाम्रो दायित्व भित्र पर्छ ।’
रवि आधारभूत विद्यालय, बेगनलाल आधारभूत विद्यालय, वीरेन्द्र मावि लखन्तरी, वाणी मावि सिद्राहा, दुर्गा आधारभूत विद्यालय र वीरेन्द्र मावि पिडारवनीलाई प्रशिक्षणमा सहभागी गराइएकाे थियो । छिमेकी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्छ भन्दै केही नेतृत्व गर्ने विद्यालय मध्ये पोखरीया माध्यमिक विद्यालयले पनि प्रशिक्षण दिएको छ । श्री पोखरिया माध्यमिक विद्यालयको आयोजनामा पाँच दिने मन्टेश्वरीहरुको लागि अभिमुखीकरण तथा कक्षाकोठा व्यवस्थापन सम्बन्धी कार्यशाला सुरु भएको छ ।
आफ्नो विद्यालयका साथ साथै आफ्ना छिमेकी विद्यालयहरूमा पनि बाल कक्षादेखि नै प्रभावकारी ढंगले मन्टेश्वरी पद्धतिबाट शिक्षण सिकाई क्रियाकलाप अगाडि बढाउन सहयोग पुगोस् भन्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए । प्रशिक्षणमा जनता मा.वि, मदननगर आधारभूत विद्यालय, सहिद आधारभूत विद्यालय, श्री आधारभूत विद्यालय कञ्चनवारी, शिव आधारभूत विद्यालय विद्यालयका बाल शिक्षकहरू सहभागी छन् ।
कार्यक्रममा पोखरिया माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतम, शैक्षिक प्रशासन महाशाखा विराटनगरका अधिकृत कृष्ण भट्टराईले शिक्षाको गुणस्तर सुधारको सिकाई नमुना र अब्बल मानिएका विद्यालयहरूबाट हुने बताए । तल्लो कक्षादेखि नै गुणस्तर सुधारमा ध्यान दिएर जाने हो भने सामुदायिक विद्यालयमाथि लागेको आरोप चिर्न सकिने उल्लेख गरे ।