तनहुँ-१ ग्राउण्ड जीरो : कांग्रेसको विरासत, रास्वपाको राप र एमालेको रणनीति
तनहुँ । कांग्रेसका शीर्ष नेताको तनहुँ दौडधुप हेर्दा लाग्छ, यो उपनिर्वाचनमा कांग्रेस ‘गर या मर’ को रणनीतिमा उत्रिएको छ । २०७४ बाहेक हरेक चुनाव जितेको कांग्रेस उपचुनाव गुमाउने पक्षमा छैन । कांग्रेसले आफ्नै पूर्व कार्यकर्ताहरूसँगको प्रतिस्पर्धा निकै भारी महसुस गरिरहेको छ । तनहुँ १ बाट उपचुनावमा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । उनीसँग प्रतिस्पर्धामा छन् भर्खरै कांग्रेस छोडेर रास्वपा छिरेका स्वर्णीम वाग्ले र आइजीपीबाट निवृत्त भएपछि एमालेको सदस्यता लिएका सर्वेन्द्र खनाल । सर्वेन्द्र कांग्रेसकै कोटाबाट आइजीपी बनेको दाबी कांग्रेस नेताहरू गर्छन् ।
एमाले र माओवादी गठबन्धन भएपछि २०७४ मा पहिलो पटक चुनाव जितेको एमाले ‘आए आँप गए झटारो’ को रणनीतिमा छ । एमालेका शीर्ष नेताहरूले तनहुँलाई खासै वास्ता गरेका छैनन् । कांग्रेस र रास्वपाबीचको लडाइँबाट जित निकाल्ने एमालेको दाउ छ । जिल्ला तहका नेताहरूले उम्मेदवार खनाललाई गत मंसिरको मत जोगाउन सके चुनाव जित्ने सुझाएका छन् । खनालको चुनावी घरदैलो हेर्दा पनि सोही रणनीति अपनाएको देखिन्छ ।
केही महिनाअघि जन्मिएको पार्टी रास्वपा तनहुँको चुनावलाई प्रतिष्ठासँग जोडेर हेर्छ । रास्वपा कांग्रेस र एमालेका विद्रोही बटुलेर परिवर्तनको जङ्गमा होमिएको छ । कांग्रेसले जित्दै आएको क्षेत्र र कांग्रेसबाटै विद्रोह गरेर निस्किएका स्वर्णीम आफ्नो पार्टीबाट उम्मेदवार बनेका कारण पनि तनहुँ १ रास्वपाका लागि चानचुने क्षेत्र होइन । उपचुनावमा ९ राजनीतिक दलका उम्मेदवार छन् । प्रमुख प्रतिस्पर्धा भने कांग्रेस, एमाले र रास्वपाबीच हुने पक्कापक्की छ ।
बलियो पक्ष
गोविन्दको बलियो पक्ष मतदातासँगको चिनजान र उठबस हो । मत माग्न जाँदा उनले आफूलाई मतदातासामु चिनाइरहनु पर्दैन । एकाध बाहेक अधिकांशले उनलाई चिन्छन् । उनले मतदाताका भावना बुझेका छन् । ‘यो गाउँ र पखेराहरूमा हुर्केको मान्छे हुँ । मैले जति गरेँ, यही माटोका लागि गरेँ । यहाँको दुख र गरिबी हटाउनका लागि काम गरेँ,’ उनी भन्छन्, ‘अहिले सम्म पद विना नै काम गरेँ । अब सांसद बनेर काम गर्ने चाहना छ ।’ उनलाई सत्ता गठबन्धन दलको पनि समर्थन र सहयोग छ ।
सर्वेन्द्रको बलियो पक्ष प्रहरीको आइजीपी बनेर काम गरेको अनुभव हो । जसका कारण चुनावी रणनीति बुन्न उनी माहिर छन् । उनले प्रहरीको सञ्जाललाई मज्जासँग प्रयोग गर्न सक्छन् । जन्मेका आधारमा तनहुँ उनको गृह जिल्ला हो । यद्यपि आफैँ तनहुँमै जन्मे हुर्केको प्रमाण उनले सामाजिक सञ्जालबाट देखाइरहनु परेको छ । तथापि उनले पनि खासै मतदातालाई परिचय दिनु परेको छैन । मतदाताले चिनेकै छन् । ‘म पूर्व आइजीपी । प्रहरीमा हुँदा धेरै अपराधीलाई तह लगाएको छु । अब राजनीतिको फोहोर सफा गरूँ भनेर यता आएको हुँ,’ मतदातासँग उनले भने, ‘हजुरहरूले मत दिनुस् है । जिताएर सहयोग गर्नुप-यो । मेरो अरू केही स्वार्थ छैन । सेवक बनेर काम गर्छु ।’
स्वर्णीमको बलियो पक्ष उनको पार्टीका सभापति रवि लामिछाने हुन् । उनलाई धेरैले छोएका छैनन्, सुनेका छन् । स्वर्णीमलाई नचिनेकाहरू रास्वपाको चुनाव चिन्हसँग राम्रै परिचित छन् । उनलाई चुनावी प्रचारमा पनि आफ्ना एजेण्डा सुनाउने भन्दा आफ्नै परिचय दिन हम्मेहम्मे छ । समर्थकहरू हातमा घण्टी लिएर झण्डा सहित घरदैलोमा पुग्छन् । भेटेका जतिलाई घण्टी बजाएर मतको संकेत गर्छन् । ‘म स्वर्णीम वाग्ले । रवि लामिछानेको पार्टीको उम्मेदवार । घण्टीमा भोट हाल्नुस् है,’ स्वर्णीम मतदातासँग भन्छन्, ‘देशको अर्थतन्त्र सुधार्नु छ । केही परिवर्तन गर्नुपर्ने छ ।’ रास्वपा नयाँ पार्टी भएपनि कांग्रेस र एमाले पुराना पार्टी हुन् । उनीहरूको गाउँ तहसम्म नै पार्टीको संगठन छ, कार्यकर्ताहरू छन् । रास्वपासँग युवापुस्ताको भरोसा छ, फेरिन चाहेकाहरूको लहर छ ।
कसको कमजोरी के ?
तीनैजना उम्मेदवारसँग कमजोर पक्ष पनि छन् । गोविन्दलाई निष्ठावान् पात्र भनेपनि कांग्रेससँग मतदाताको गुनासो छ । कांग्रेसले २०४८ देखि लगातार चुनाव जितेर काम नगरेको आरोप छ । रामचन्द्र पौडेलको विगत गोविन्दलाई प्रतित्युपादक बन्न सक्छ । सर्वेन्द्र मतदातासँग घुल्न सकेका छैनन् । अघिल्लो चुनावको मत मात्रै जोगाउन सके चुनाव जित्ने अड्कलबाजीले उनी एमाले समर्थितको घरदैलोमा बढी जोड दिएर हिँडेका छन् । उनलाई पनि भूगोलको नेता मान्न सकेका छैनन्, मतदाताले । स्वर्णीमलाई बाहिरिया उम्मेदवारको आरोप छ । उनी मतदातासँग भिज्न सकेका छैनन्, मतदाताको दुखमा मिल्न सकेका छैनन् । चुनावी भाषणहरू स्थानीय एजेण्डा भन्दा ठूलाठूला परिवर्तनको आस उनले देखाएका छन् । जुन कुरा मतदाताले पचाउन सजिलो छैन ।
मतदाताका नजरमा तीन उम्मेदवार
परिवर्तनको आस एकातिर छ भने परम्परागत पार्टीहरूसँगको आक्रोश अर्कोतिर छ । तर पुराना पार्टीसँगको सम्बन्ध च्वाट्टै छोड्न पनि मतदातालाई सजिलो छैन । व्यास ९ की कोपिला धमेल भन्छिन्, ‘अहिलेसम्म रुखमै भोट हाल्दै आएको हुँ । एमालेले पनि परेका बेला सहयोग गर्छ । छोराहरूले अहिले घण्टीमा भोट हाल्नुस् भनेर दबाब दिएका छन् । म दोधारमा छु ।’
व्यास १० कलेस्तीकी विष्णु पुन उम्मेदवार चिन्दिनन् । कसले जित्ला त यसपालि ? हाम्रो प्रश्न भुईँमा खस्न नपाउँदै दुई औँला जोडेर उनले घण्टीको संकेत गरिन् । ‘विद्वान मान्छे भनेर फेसबुकमा आउँछ । विदेशमा दुख परेकाहरूले रवि दाइ बचाउनुस् भनेर फोन गरेको टिभीमा हेरेका छौँ,’ उनले भनिन्, ‘एक पटक चान्स दिनुपर्छ । हाम्रा आफन्त कोही होइनन् क्यारे । सबैलाई एकपटक हेरम न भनेर सोचेका छौँ ।’ स्वर्णीमलाई नेपाली कांग्रेसकै पूर्व नेता कार्यकर्ताको साथ छ । उनीहरूले डोहो-याए अनुसार नै उनी चल्छन् । भित्री रूपमा कांग्रेस र एमालेका वर्तमान नेताहरूले पनि उनलाई सघाएको छनक देखिन्छ । त्यसो त कांग्रेसका पूर्व जिल्ला सचिव विश्व बास्तोला रास्वपा प्रवेश गरेर स्वर्णीमकै चुनावी अगुवा बनेका छन् । कांग्रेस आँवुखैरेनी गाउँपालिका सभापति विष्णुबहादुर पन्थ र व्यासका नेता राजु दाहाल रास्वपाका चुनावी अभियान्ता हुन् ।
कांग्रेस मन नपराएकाहरूले पनि उम्मेदवार गोविन्द भट्टराईलाई भने मन पराएको बुझियो । हामीले भेटेका मतदाताहरू गोविन्दलाई बेदागी र अवसर नपाएको नेताका रूपमा चित्रित गरेका छन् । उनले टिकट पाएकोमा असन्तुष्ट खासै भेटिएनन्, बरु खुसी छन् । तर स्वर्णीमलाई कांग्रेसले गुमाएकोमा कार्यकर्ताहरू आक्रोशित थिए । ‘अवसर अहिलेसम्म पाउनुभएको थिएन । पहिलो पटक भोट माग्न आउनुभएको छ । हिजो ठाउँमा नहुँदा पनि धेरै योजना ल्याउनुभएको हो,’ भट्टराईप्रति सहानुभूति राख्दै सेराटारका परमेश्वर भट्टराई भन्छन्, ‘काठमाडौँमा अर्बौँका घर र तराईमा बिघा जग्गा कसैले खोजेका छैनन् । बिसौँ वर्षदेखि हामीसँग खाइखेलेको उम्मेदवारलाई भोट हाल्छौँ ।’
खासगरी तनहुँतिर भट्टराईलाई खानेपानी मान्छे भन्दा रहेछन् । ‘पिठ्युँले सुख पाउला भन्ने मनले कहिल्यै कल्पेन, आज आँगनमा धारा आयो । राती १ बजे उठेर पानी लिन जानुपर्थ्यो,’ व्यास १२ की शान्ता दवाडी भन्छिन्, ‘पानी ल्याउन पहल गर्ने गोविन्द भट्टराई नै हुन् । हामीले उहाँ कांग्रेस हो कि हैन भन्ने चिनेका पनि हैनौँ । गाउँघर डुल्न आउँदा समस्या के छ भनेर सोध्नुहुन्थ्यो । सधैँ खानेपानीको दुख सुनाउँथ्यौँ । उहाँले टिपेर लैजानुभएको थियो, अनि पानी आयो ।’
सर्वेन्द्रलाई पनि व्यक्तिगत रूपमा भन्दा पार्टीका उम्मेदवारका हिसाबले हेरेका छन् मतदाताले । भत्ता दिने पार्टीको उम्मेदवार भनेर उनलाई स्वागत गरेका छन् । बन्दिपुर तिलाहारकी परिमाया गुरुङ बृद्धभत्ता एमालेले वितरण गरेकोले भोट उतै जाने बताउँछिन् । ‘एमालेले भत्ता दिएको हो । जो उठेपनि भोट हाल्छौँ,’ एजेण्डाबारे वास्ता नगरी उनले भनिन् । स्थानीय नन्दा पन्त एमालेको गुनको नजरले सर्बेन्द्रलाई हेर्छिन् । ‘बृद्धबृद्धालाई भत्ता दिएको छ । त्यो गुन कसले बिर्सिन सक्छ र ? व्यक्तिले केही गर्ने होइन, पार्टीले गर्ने हो,’ उनी भन्छिन् । सर्वेन्द्रलाई जिताउन नेताहरू मतदाताका समस्या सुन्दै टिप्दै हिँडेका छन् ।
चुनावी गणित
तनहुँमा त्रिपक्षीय प्रतिस्पर्धा हुनेमा दुईमत छैन । चुनाव कसले जित्छ भन्ने आकलन न मतदाताले गर्न सकेका छन्, न त उम्मेदवारले नै । सबैजनाले प्रतिस्पर्धा कडा हुने अड्कलबाजी गरिरहेका छन् । अहिलेको चुनावलाई विगतको नतिजाले भने निर्देशित गर्न सक्छ । मङ्सिर ४ गते भएको चुनावमा यो क्षेत्रबाट तत्कालीन उम्मेदवार रामचन्द्र पौडेलले २५ हजार ३८१ मत पाएका थिए । उनलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ थियो । निकटतम प्रतिस्पर्धी एकबहादुर राना मगरले १९ हजार ९८१ मत पाए ।
स्वतन्त्र उठेका पूर्व कांग्रेस नेता गोविन्दराज जोशी एक्लैले ६ हजार ८८६ मत पाएका थिए । अहिलेको निर्वाचनमा पनि जोशी फ्याक्टरलाई प्रमुख मानिएको छ । उनले खुलेर कसैलाई समर्थन गरेका छैनन् र उनको आफ्नै उम्मेदवारी पनि छैन । रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए । गत निर्वाचनमा यहाँबाट १५ उम्मेदवार थिए ।
समानुपातिक तर्फ कांग्रेस पहिलो, एमाले दोस्रो र रास्वपा तेस्रो बनेको थियो । अहिले मतदाता केही घटेका छन् । अघिल्लो चुनावमा १ लाख २३ हजार ४९० मतदाता थिए । अहिले भने १८५ मतदाता घटेर १ लाख २३ हजार ३०५ कायम भएका छन् । कांग्रेसले समानुपातिकमा २० हजार १५८, एमालेले १६ हजार ६८३ र रास्वपाले १२ हजार ७७३ मत पाएका थिए ।
माओवादीले नेपाल समाजवादीको मत समेत जोडेर ७ हजार ३२३, एकीकृत समाजवादीले ९५०, जनता समाजवादी पार्टीले ३२३, जनमत पार्टीले १६३, राष्ट्रिय जनमोर्चाले ५० र लोकतान्त्रिक समाजवादी पार्टीले २४ भोट पाएका थिए । मतान्तर र अहिलेको चुनावी चहलपहल हेर्दा खासै ठूलो मतान्तरमा हारजित हुने अवस्था देखिँदैन । निर्वाचनका लागि ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र तोकिएका छन् ।