संवैधानिक निकायलाई रिटायर्डहरुको क्लब जस्तो नबनाऔँ : सांसद सापकोटा

काठमाडौँ । प्रतिनिधिसभाका सांसद माधव सापकोटाले संवैधानिक निकायहरुलाई ‘रिटायर्डहरुको क्लबजस्तो ’ बनाउन नहुने टिप्पणी गरेका छन् । सांसद सापकोटाले अख्तियार प्रयोग गरेका वा लाभका पदमा बसेकाहरुलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा लैजाने काम गर्नै नहुने प्रस्तावसमेत गरे ।

बुधबार प्रतिनिधिसभा बैठकमा अख्तियार दूरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७७ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले त्यस्ता व्यक्तिहरु अख्तियार दूरपयोग अनुसन्धान आयोगमा पुगेकै कारण मुलुकमा भ्रष्टाचार नियन्त्रणमा कमी आउन नसकेको तर्कसमेत गरे ।

लाभको पदमा नपुगेका, कुनै पनि खालको अख्तियार नपाए विज्ञहरुलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा पठाएमात्रै मुलुकमा विद्यमान भ्रष्टाचारसम्बन्धि समस्या समाधान हुने सांसद सापकोटाको भनाइ थियो ।

‘हाम्रा संवैधानिक निकायहरु रिटायर्डहरुको क्लबजस्तो भएका छन्,’ उनले भने, ‘यहाँ गएर शक्ति प्रर्दशन गर्ने, आराम गर्ने थलोजस्तो भएको छ । अख्तियार प्रयोग गरेका वा लाभका पदमा बसेका मानिसहरु अख्तियारमा गएर बस्नु हुँदैन ।’

उनले कुनै पनि लाभको पदमा पुगेका वा अख्तियारी प्रयोग गरेका व्यक्ति त्यहाँ जाँदा संवैधानिक निकायको कार्य प्रभावित हुने बताए ।

‘यस्ता नागरिकहरु त्यहाँ जानु प¥यो, एक पटक पनि जिन्दगीमा लाभको पद नलिएको होस्,’ उनले भने, ‘अख्तियार प्रयोग नगरेको र विज्ञको रुपमा विकसित भएको मानिसलाई छानियो भने मात्रै यी समस्याको हल गर्न सकिन्छ । ठूला नेताहरुलाई धारे हात लगाएर मात्रै यो कुराको समस्या समाधान गर्न सकिदैन ।’

सांसद सापकोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि उपयुक्त व्यक्तिलाई पठाउने कुरामा ध्यान दिनुपर्ने पनि उल्लेख गरे ।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *