प्रधानमन्त्रीको भारत भ्रमणको मिति र एजेन्डा तय हुन बाँकी छ : मन्त्री शर्मा
काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको समय निश्चित नभएको बताएकी छन् ।
बिहीबार वैशाख ५ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताइन् । प्रधानमन्त्रीको भारत भ्रमण निश्चित रहेपनि मिति भने तोकि नसकिएको बताए । उनले भ्रमणका क्रममा प्रधानमन्त्रीले राख्ने विषयहरु मन्त्रालयले प्राथमिकताका
आधारमा सुझाव दिने बताए । उनले प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा सम्बन्धी समस्याका कुराहरु प्राथमिकतामा पर्नेपनि बताइन् ।
‘प्रधानमन्त्रीको भारत भ्रमण हुने भन्नेकुरा छ तर मिति निश्चित भइसकेको छैन,’ उनले भनिन्, ‘ मिति तय भइसकेपछि नै भ्रमणको तयारीको बारेमा मन्त्रालयले प्राथमिकताका आधारमा योजना बनाउनेछ । के कस्ता योजना समावेश गर्ने ? भन्नेकुरा क्याबिनेटबाट नै स्वीकृत हुने हुँदा अहिले मिति तोकि सकिएको छैन । भारत सरकारसँग सम्बन्धित रहने योजना, जुन भारतसँग सहयोग लिनुपर्ने हुन्छ, तिनै योजना नै प्राथमिकतामा पर्ने हो । सीमासम्बन्धी समस्याका कुराहरु प्राथमिकतामा पर्नेछन् ।’
मन्त्री शर्माले प्रधानमन्त्रीको भारत भ्रमण निश्चित भइसकेपछि भारतसँग छलफलका एजेण्डाहरु तय गर्ने पनि बताइन् ।