स्वर्गकाे टुक्रा शे-फाेक्सुण्डाेमा मनाएकाे नयाँ वर्ष (यात्रा संस्मरण)

काठमाडाैँ । डोल्पा यात्राको चौथो दिन, नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते (वर्ष २०८०) लाई डोल्पा जिल्ला को सुन्दर प्राकृतिक शे–फोक्सुण्डो ताल (३८०० मिटर) बाट स्वागत गर्ने हाम्रो लक्ष्य पूरा भइसकेको थियो । वरिपरि हिउँले भरिएको सुन्दर हिमालबिच रहेको शे–फोक्सुण्डो तालको जति वर्णन गरे पनि पुग्दैन । ताल यति सुन्दर छ, जहाँ हिन्दु र बौद्ध धर्मावलम्बीको धेरै आस्था रहेको पायौँ ।

लाखौँ खर्चेर विदेश गएर समुन्द्र र अग्ला कङ्क्रिटका बिल्डिङ हेर्नुभन्दा हाम्रो देशमा प्रकृतिले दिएका सुन्दर, सफा, स्वच्छ हिमाल, ताल, पुर्खाले रचना गरेका सुन्दर बस्ती, कला–संकृति साथै यहाँ पाइने अमूल्य जडीबुटीको अवलोकन गर्नु निकै बुद्धिमानी लाग्याे । साथै यहाँको प्रकृति, माटोसँग जोडिएर केही समय सँगै बस्न पाउँदा धेरै  नै आनन्दानुभूति भयाे । अलाैकिक संसारमा पुगेकाे अनुभूति गर्न पाइयो । याे पवित्र भूमिको सुन्दरताको महसूस गर्न तपाईं पनि अवश्य आउनु हुनेछ भन्ने कामना हामीले यस तालको छेउमा बसेर गरेका छौँ ।

नयाँ वर्षको शुभकामना एकआपसमा आदानप्रदान गरेर हामी बिहानको ठिक ७ बजे सूर्योदयको सुमधुर प्रकाशसँगै घर फर्किनको लागि झोला बोकेर ओरालो झर्न थाल्यौँ । हामीलाई तल सुलीघाट पुग्न १५ घण्टा हिँड्नु पर्ने भयाे । अस्ति आउँदा बिचमा बास बसेका थियाैँ । फर्किँदा सबै साथीले जसरी भए पनि सुलीघाट पुग्ने वाचा गरी जुफालबाट पोखराको टिकेटका लागि कुरा गरेर हामी त्यहाँबाट जसरी भए पनि तल पुग्ने भनेर बाटो लागेका थियाैँ । तालको सुन्दरतालाई छोडेर आउन मन मानिरहेकाे थिएन । मन जसाेतसाे मनाएर फर्किन थालेका थियाैँ ।

कहिबेरको तेर्सो बाटो हिँडेपछि हिजोको ओरालो र आजको उकालो चढ्दै सुन्दर प्रकृतिलाई बाईबाई गर्याैँ । हिँड्दै गर्दा जतिजति ओरालो झर्दै गहियो त्यति नै हिँड्न गाह्रो हुन थालेको थियो । हिजो उकालो चढ्नुभन्दा आज तल झर्न धेरै कठिन भइरहेको थियो । क्षितिज र पवन पछिपछि आउँदै थिए । म भने अघिअघि थिएँ । झरना होटेलमा आई पुगेपछि बल्ल बोतलमा पानी भरेर २५० मा सानो कोक किनियो । त्यसपछि पवन अगाडि बढ्यो म र क्षितिज पछिपछि विस्तारै बढ्दै गर्याैँ ।

हिजो खाना खाएको ठाउँमा पुग्दा १० बजिसकेको रहेछ । पवनले खान अर्डर गरेर पकाउन लगाएको रहेछ । हामी पुग्दा दाल र भात पाकिसकेको रहेछ । तरकारी र आचार बनाउन बाँकी रहेछ । मैले हिजो भनेको मासु भयो त ? भनेर प्रश्न गरेँ मासु लिन जानु भएको दाइ आइपुग्नु भयको रहेनछ। नभन्दै दाइ बोरामा मासु बोकेर टुप्लुक्क आइपुग्नु भयो ।

‘लु लु मासु पकाई हाल्नु, खाएर मात्र जाने,’ मैले भनेँ । दाइले भने, ‘भाग लगाएर काट्न बाँकी छ ।’

‘छोड्नु म आफै काट्छु,’ भन्दै एउटा फिला निकालेर अचानो मागेर काट्न थाले क्षितिजले ।

भिडियो बनाउन थालियाे । अलिकति काटेर मरमसला मोलेर कुकरमा सिटी लगाएर मैले आफैँ पकाएँ । च्याङ्ग्राको मासुसँग खाएको भात कैले बिर्सन सकिँदैन । हामीले अस्पतालको गफ गरेको सुनेर होला हामीसँग दाइले औषधि माग्नु भयो । हामीसँग भएको औषधि छोडेर बाटाे लाग्याैँ ।

बाटोमा तलबाट आउनु भएका सबैलाई बाटोको बारेमा जानकारी दिँदै हामी हिँडिरह्याैँ । छेप्का गाउँ पुग्दा ३ बजेर उकालो लागिसकेको थियो । काठमाडौँबाट आउनुभएका ४ जना मध्ये २ जना र हाम्रो पवन भाइ अघिअघि लाग्नु भयो । उहाँहरू चाँडै तल झरेर फोन लाग्ने ठाउँमा पुगेर जुफालबाट पोखरा वा नेपालगञ्जको फ्लाइट फाइनल गर्नु थियो । सुली घाटबाट दुनै बजारसम्म जान गाडी पनि रिजर्व गर्नु पनि थियो । क्षितिजको खुट्टामा फोका उठेर फुट्न थालिसकेका थिए ।

हाम्रो हिँडाइ झन् ढिलो हुन थालेको थियो । क्षितिजले जुत्ता बोक्न बिर्सेको रहेछ त्यसैले बाटोमा किनेको जुत्ता राम्रो परेन छ। हिँड्दा हिँड्दै झमक्क साँझ परिसकेको थियो । सबै साथीले हामीलाई छोडेर अघि बढिसक्नु भएका थिए । अब हामीसँग मोबाइलको लाइटबाहेक अरू साथी थिएन । मोबाइल बाल्दै हामी एक अर्कामा नबोली हिँड्न थाल्यौँ कहीँ पर बत्ती बलेको देखिन्छ की भनेर एक छिन उभिए यताउता हेर्दै हिँड्न थाल्यौँ । त्यो अँधेरी रातमा खोलाको आवाजबाहेक केहीको आवाज थिएन । बल्ल कागेनी भन्ने गाउँ आइपुग्यो । अब कति टाइम लाग्छ भनेर सोध्दा अझै २ घण्टा लाग्छ भन्नु भयो। त्यसपछि झन् हाम्रो खुट्टा चल्न छोडे।

धेरैबेर हिँडेपछि तल एउटा बत्ती बलेको देखियो अब चाहिँ आइपुग्न लागेछ भनेर अलि ढुक्क भयो । त्यतिखेर घडीमा ८ः१५ भएको रहेछ । त्यसपछि लगभग ४५ मिनेट हिँडेपछि बल्ल हामी चेक पोस्ट पुग्यौँ, जहाँ अघिल्लो दिन हामीले धेरै भएको सामान छोडेका थियौँ । आफ्नो सामान बोकेर केहिबेर तेर्सो हिँडेपछि सुलीघाट पुग्याैँ । साथीहरू पनि १ घण्टा अगाडी आइपुगेका रहेछन् । गाडी तयारी अवस्थामा रहेछ । फटाफट गाडी चडेर हामी दुनै बजार पुग्याैँ । हामी जुन होटलमा पुग्याैँ ।

त्यो होटल ५ स्टारभन्दा कम लागेन तातो पानीमा नुहाउन पाउँदा स्वर्ग पुगेको भान भयो । खाना खाएर सुत्दा १ बजिसकेको थियो ३ बजे उठेर तयार हुनु थियो ।

हामी बसेको होटलबाट गाडीमा जुफाल एयरपोर्ट पुग्न २.५ घण्टा लाग्ने रहेछ । बिहान ६ः३० को फ्लाइटबाट पोखरा जाने गरी हाम्रो टिकेट फाइनल भएको रहेछ ।

हामी हतार–हतार गरेर एयरपोर्ट पुग्याैँ । तर पोखराको मौसम खराबको कारण फ्लाइट क्यान्सिल भएको जानकारी प्राप्त भयो । अब के गर्ने भनेर अलमल भइरहेकाे बेला नेपालगञ्जबाट एउटा फ्लाइट आउँदै गरेको थाहा भयो । त्यसमा जम्मा ३ वटा मात्र सिट खाली भएको हुनाले हामी ३ जना त्यो फ्लाइटबाट नेपालगञ्ज जाने निधो भयो ।

अरू साथी चैँ भोलिपल्टको फ्लाइटबाट आउने फाइनल भयो । ती ४ जना साथीलाई काेटीकाेटी नमस्कार साथै धन्यवाद दिँदै हामी जुफालबाट नेपालगञ्ज र नेपालगञ्जबाट काठमाडौँ आइपुग्दा ठिक बिहानको १०ः३० भएकाे थियाे । यसरी हाम्रो यात्रा ५ दिनमा पूरा गरेका थियौँ । १० दिन लाग्ने यात्रा ५ दिनमा सकेको कसैले पत्याउनु भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *