ओमानविरुद्ध नेपालको कीर्तिमानी जित
काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत शुक्रबार भएको एक दिवसीय खेलमा नेपालले ओमानविरुद्ध किर्तीमानी जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको हो ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ओमानलाई हालसम्मकै सर्वाधिक ३११ रनको चुनौती दिएको थियो । जितका लागि उक्त चुनौती सामना गर्ने क्रममा ओमानले ४६.३ ओभरमा ९ विकेट गुमाएर जम्मा २२६ रन मात्र बनाउन सक्यो ।
यो जितसँग अब नेपाल सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ ।
नेपालका लागि कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको योगदानमा नेपालले अन्तर्राष्ट्रिय ओडीआईमा हालसम्मकै उच्च अंक जोडेको हो ।
खेलको सुरुमा ओपनर आसिफ शेख र कुशल भुर्तेल शून्यमा आउट भएका थिए । पहिलो ४ ओभरमा रनविहीन रहेको नेपालले पाँचौँ ओभर चौथो बलमा बल्ल रन लिन सुरु गरेको थियो ।
त्यसअघि भीम सार्की र कप्तान रोहितकुमार पौडेलले ५४ रनको अर्धशतकीय साझेदारी गरे । रोहित ३४ बलमा २३ रन बनाएर आउट भए । भीमले ३३ रन जोडेका थिए ।
कुशलले आरिफ शेखले ७५ रनको साझेदारी गरे । आरिफले ४३ बलमा २९ रन बनाएर भने कुशलले ५९ बलमा ९ चौका र ९ छक्काको बलमा १०८ रन बनाए ।
सोमपाल र करण केसीले ६१ रनको साझेदारी गरे । सोमपालले ६३ र करण २९ रन बनाए ।
ओमानका लागि आएन खानले २, बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंह्यले समान १ विकेट लिए ।
ओमानका लागि मोहम्मद नदिमले ७ चौका र १ छक्काको सहयोगमा ६५ रन बनाए। नदिमले सन्दिप गूडसँग ९६ रनको साझेदारी गरेका थिए ।
गौडले ५६ बलमा ३ चौका र २ छक्का मद्दतमा ४६ रन बनाए । आयान खानले २९ र कश्यप प्रजापतिले २५ रन जोडे ।
नेपालका लागि सन्दीप लामिछानेले र करण केसीले समान ३–३ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । ललित राजवंशीले १ विकेट लिए ।