फेसबुक लाइभमा रविले भने : मैले मतदानस्थलमा जान सक्ने अवस्था रहेन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू आफ्नो निर्वाचन क्षेत्रमा भइरहेको मतदान कार्यक्रमको अवलोकन गर्न मतदान स्थलमा जाने अवस्था नरहेको बताएका छन् ।
चितवन २ को मतदान स्थलमा अवलोकन गर्न जाने क्रममा समर्थकहरुले रवि लामिछानेको समर्थनमा नारा लगाएपछि विपक्षी दलका युवाहरु झडपमा उत्रिएका थिए । हुलहुज्जतमा उत्रिएका विपक्षी युवाहरुले रविको पक्षमा नारा नलगाउन आग्रह गर्दै हुलहुज्जत गरेका छन् । त्यस्तै, उक्त हुलहुज्जतको लाइभ गरिरहका रविका एक नेताका मोबाइल खोसेर फ्याँकीदिएका थिए ।
त्यसपछि फेसबुक लाइभमा आएका रविले आफू निर्वाचन क्षेत्रमा जान सक्ने अवस्था नरहेको उनले बताए । आफूविरुद्ध यस्ता घेराबन्दी र षड्यन्त्रको पूर्वतयारी रहेको कुरा प्रशासनलाई पहिले नै जानकारी गराएको पनि उनले बताएका थिए ।
‘विभिन्न मतदान केन्द्रमा गएर मतदाता भेट्ने र मतदान अधिकृतसँग जानकारी लिने, मतदातासँग कुराकानी गर्ने कोसिसमा थिएँ,’ चितवन २ बाट रास्वपाका उम्मेदवारसमेत रहेका उनले भने, ‘तर, स्थिति त्यति सहज नभएपछि म अहिले घर फर्किएको छु।’
एउटा माघले जाडो नजाने भन्दै उनले यस घटनालाई र अहिले चितवनमा भइरहेको मतदानलाई विश्वभरबाट नेपालीले हेरिरहेको उनले बताए ।