गण्डकीमा माओवादीलाई मुख्यमन्त्री नदिन कांग्रेस पुग्यो काठमाडौँ
पोखरा । गण्डकीमा नयाँ सरकार गठनको तयारी छ । खगराज अधिकारी नेतृत्वको सरकार शनिबार ढलेपछि सरकार गठनको प्रक्रिया अझै सुरु भएको छैन ।
नयाँ सरकार गठनमा विलम्ब हुनुको कारण माओवादीले मुख्यमन्त्री दाबी गरेको छ । तर कांग्रेसले आफ्नै नेतृत्वमा सरकार हुनुपर्ने अडान लिएको छ । प्रदेश प्रमुखले पनि सरकार गठनका लागि अझै आह्वान गरेका छैनन् ।
गण्डकीको नेतृत्व पहिले कसले गर्ने भन्ने निक्र्यौल नहुँदा समस्या भएको हो । अहिले कांग्रेसका सांसदहरू काठमाडौँ डेलिगेसन गएका छन् । मुख्यमन्त्री माओवादीलाई दिने संकेत पाएपछि उनीहरू उक्त निर्णय रोक्नका लागि काठमाडौँ गएका हुन् । उनीहरू सोमबार बिहानै काठमाडौँ लागेका छन् । दलका नेता सुरेन्द्र राज पाण्डे भने आइतबार साँझ नै काठमाडौँ गइसकेका छन् ।
गण्डकीमा कांग्रेसको २७ सीट छ भने माओवादीको ८ सीट छ । सरकार गठनका लागि ३१ सीट चाहिन्छ । शनिबार मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने क्रममा उनको पक्षमा एमाले र राप्रपाको २४ मत परेको थियो भने विपक्षमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको ३५ भोट परेको छ । माओवादीले सुरु देखि नै मुख्यमन्त्री आफूले पाउनुपर्ने दाबी छोडेको छैन ।