गण्डकीमा कांग्रेसकै नेतृत्वमा सरकार बन्ने
पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ । तनहुँको उपनिर्वाचनलाई लिएर माओवादीले मुख्यमन्त्री दाबी गर्दै आएको थियो । तर कांग्रेसका २७ जना सांसद उक्त दाबी विरुद्ध काठमाडौँ डेलिगेसन पुगेको हो ।
डेलिगेसनका क्रममा शीर्ष नेताहरूले गण्डकी कांग्रेसले लिने सहमति भएको जानकारी गराएका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए । ‘हामीले नेतृत्वहरूसँग भेट्यौँ । उहाँहरूले कांग्रेसले नै पहिलो पालो पाउने बताउनुभयो,’ उनले भने, ‘अब पोखरा आएर सरकार गठनको प्रक्रिया थाल्छौँ ।’
पाण्डेका अनुसार गण्डकीमा पुनः संविधानको धारा १६८ उपधारा २ अनुसार नै सरकार गठन हुने छ । उपधारा २ मा दुई वा सो भन्दा बढी दलहरू मिलेर सरकार गठन गर्न पाउने व्यवस्था छ । प्रदेशमा कुनैपनि पार्टीको एकल बहुमत नभएका कारण यसअघि पनि उपधारा २ अनुसार नै सरकार बनेको हो ।
तर एमालेले भने गण्डकीमा अव २ अनुसारको सरकार बन्ने बाटो बन्द भएको बताएको छ । ‘हामीले उपधारा २ अनुसारको सरकार बनायौँ । संसद्बाट विश्वासको मत गुमाएपछि गण्डकी उपधारा ३ मा पुग्छ,’ मन्त्री वेदबहादुर गुरुङले भने, ‘यहाँ २ अनुसारको सरकार अब बन्दैन ।’ कुन उपधारा अनुसार सरकार बनाउने भन्ने अन्योल भएपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दलहरूलाई छलफल गर्नका लागि काठमाडौँ पठाएका हुन् ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलले गण्डकीको नेतृत्व पहिले कांग्रेसले लिने सहमति भएको हो । गण्डकी सहित लुम्बिनी र सुदूरपश्चिमको नेतृत्व कांग्रेसले गर्ने, कर्णाली र बागमती प्रदेशको नेतृत्व माओवादीले गर्ने सहमति भएको छ । अहिले पनि यी दुई प्रदेशमा माओवादीको नेतृत्व छ भने सुदूरपश्चिममा कांग्रेसले नै नेतृत्व गरिरहेको छ ।
तर माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले गण्डकीको नेतृत्वबारे जानकारी नपाएको बताए । ‘अहिले हाम्रो पालो हो । केन्द्रमा के निर्णय भयो भन्ने मलाई थाहा छैन । तर नेताहरूलाई फोन गर्दा तपाईँकै पालो हो भनेका छन्,’ उनले भने, ‘ढुक्क भएर बस्नुस् हामी तपाईँकै पक्षमा निर्णय गर्छौँ भनेका छन् । यहाँ माओवादीकै नेतृत्वमा सरकार बन्छ ।’ आफ्नै नेतृत्वमा गण्डकी सरकार बन्ने उनको दाबी छ । प्रदेश प्रमुखले मंगलबार मुख्यमन्त्री दाबी गर्नका लागि आह्वान गर्ने छन् ।
शनिबार मुख्यमन्त्री खगराज अधिकारीले संसद्बाट विश्वासको मत गुमाएपछि गण्डकीमा कामचलाउ सरकार छ । पुस २५ गते माओवादी र राप्रपा समेतको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनका कारण पुरानो गठबन्धन टुट्यो र नयाँ समीकरण बनेको हो ।
सोही समीकरणका कारण माओवादी एमालेसँग छुट्टिएर कांग्रेसतिर लागेको छ । शनिबार अधिकारीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा २४ मत परेको थियो भने विपक्षमा ३५ मत परेको थियो । आगामी सरकारको नेतृत्वमा कांग्रेस र माओवादी दुवैको दाबी भएका कारण मुख्यमन्त्री नियुक्तिमा विलम्ब भएको हो ।