मिर्चैयामा नगरपालिकाले गरेको घर तोडफोडप्रति जनप्रतिनिधिद्वारा भर्त्सना
जनकपुरधाम । सिराहा जिल्लाका सांसद एवं पूर्व मन्त्रीले मिर्चैया बजारमा वर्षौँदेखि बस्दै आएकाको घर नगरपालिकाले तोडफोड गराएकोप्रति भर्त्सना गरेका छन् ।
जिल्लाका संघीय एवं प्रदेश सांसद र पूर्व मन्त्री समेतले मंगलबार पत्रकार सम्मेलन गरी नगरपालिकाले चालेको कदमप्रति आक्रोश व्यक्त गरेका छन् ।
गत माघ र फागुनमा गाउँब्लकभित्र पर्ने बजार क्षेत्रका करिब तीन दर्जन घर मिर्चेया नगरपालिकाले भत्काएको थियो । घर भत्काएपछि पीडितहरू आन्दोलन गर्दै आएका छन् ।
जनप्रतिनिधिले यही घटनालाई लिएर सिराबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, पूर्वमन्त्री तथा प्रदेश सांसद्हरूले मंगलबार मिर्चैयामा पत्रकार सम्मेलन गरी नगरपालिकाको कदमलाई भर्त्सना गरेका छन् ।
सिराबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरू जसपाका वीरेन्द्र महतो, नेकपा एमालेका लिलानाथ श्रेष्ठ, मञ्जु खाँड, पूर्व मन्त्रीहरू तथा नेकपा माओवादी नेता महेन्द्र पासवान र अजयशंकर नायक, एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष धर्मनाथप्रसाद साह, प्रदेश सांसदहरू जनमत पार्टीका त्रिभुवन साह र भाग्यश्री चौधरी, राप्रपाकी कञ्चन बिच्छा र नेकपा माओवादीका दिलीप साहले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी घटनाको निन्दा गरेका हुन् ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा गाउँब्लक जग्गाको नाप नक्सा समेत भइसकेको अवस्थामा घरहरू तोडफोड गरिएको र जग्गाधनीहरूलाई लालपुर्जा वितरणमा रोक लगाइएको घटनाको निन्दा गरिएको छ । नगरपालिकाले गैरकानुनी रूपमा मिर्चैयास्थित विशेष नापी कार्यालयलाई लालपुर्जा वितरणमा रोक लगाएको पनि उनीहरूको आरोप छ ।
नगरपालिकाले घर भत्काइदिएपछि स्थानीयमा पर्न गएको पिर–मर्काप्रति उनीहरूले दुःख व्यक्त गरेका छन् । साथै, वैशाख ७ गते घर तोडफोडको विरोधमा भएको आन्दोलनका क्रममा प्रहरीले दमन गरेको भन्दै घटनामा संलग्नलाई कारबाही गर्न पनि उनीहरूले सरकारसँग माग गरेका छन् ।
कानुन विपरीत क्रियाकलाप गरिएको भन्दै उनीहरूले कमी कमजोरी तत्काल सच्याएर पीडितहरूलाई न्याय दिन नगरपालिका, मालपोत कार्यालय र विशेष नापी कार्यालयलाई आग्रह गरेका छन् । आगामी दिनमा यस्ता क्रियाकलाप नदोहो¥याउन नगरपालिकालाई सचेत गराउँदै पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।
गत माघ २७, फागुन ११ र फागुन १९ गते नगर प्रमुख श्रवणकुमार यादवको नेतृत्वमा बजार क्षेत्रका करिब तीन दर्जन घर तोडफोड गरिएको थियो । चार वर्षअघि विशेष नापीले गाउँ ब्लक क्षेत्रका जग्गाको नापजाँच गरी लालपुर्जा वितरणको तयारी गरिरहेका बेला नगरपालिकाले स्थानीयवासीको घर भत्काइदिएको थियो ।
यो घटनासँगै स्थानीयवासीले करिब एक महिनादेखि निरन्तर धर्ना तथा प्रदर्शन गर्दै आएका छन् । मंगलबार पनि उनीहरूले नगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन् । उनीहरूले तत्काल लालपुर्जा जारी गर्नुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, आन्दोलनका क्रममा घाइते भएकालाई उपचार गराउनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्नेलगायत माग गरेका छन् ।