पुराना दलकै दम्भका कारण चम्किए रवि र स्वर्णिमहरु
काठमाडौँ । ‘कुराले चिउरा भिज्दैन,’ नेपाली भाषामा चल्दै आएको पुरानो उखान हो । हो, चिउरा भिजाउन हामीले दूध, दही, तरकारी वा केही नभए पानीको व्यवस्था गर्नै पर्छ । कुरा मात्रै गरेर हुँदैन। अर्थात्, एउटा मानिसको जीवनकालभरी प्रयोगमै नआउने सैद्धान्तिक आदर्शका रटान, भाषण, जडसूत्रहरु अनि थोत्रिएका गफले न त मानिसको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउँछ । न व्यवहारिक उपलब्धीले राष्ट्रिय जीवन नै सार्थक बनाउँछ।
देश, काल परिस्थितअनुसार आवश्यकताका आधारमा जनजीविका सहज बनाउने र राष्ट्रको स्वाधीनतालाई जोगाउन सैद्धान्तिक परिमार्जन आवश्यक छ। त्यसैअनुसारका आचरण र व्यवहारिक परिमार्जनको माग समयले गर्दछ । त्यही माग हो, अहिलेको उपनिर्वाचनमा जनताले रास्वपा र यसका उम्मेदवारलाई दिएको मत ।
त्यसो त २००७ सालमा आम नेपालीले समयअनुसार राजनीतिक व्यवस्थाको माग गर्दै नेपाली कांग्रेस र नेकपा जस्ता दललाई रोजेका थिए । २०१५ को निर्वाचनमा नेपाली कांग्रेसलाई नै रोजेका थिए । त्यसपछि २०४८, २०५४ मा पनि कांग्रेस एमालेलाई नै सैद्धान्तिक रटान गर्न नभई व्यवहारमै देशमा सुख, शान्ति र समृद्धि ल्याउने जिम्मा सुम्पिँदै मत दिएका हुन्।
तर, जनमत र विस्वासको यति धेरै उपेक्षा र घात गरे की त्यो नेपालको इतिसका पानामा लिपिबद्ध नै छन् । त्यसबाट आजित जनताले २०६४ मा माओवादी रोजेर पहिलो पार्टी बनाइदिए । तर, उनी पनि कांग्रेस, एमाले भन्दा अझ खराब भएर मासिँदै गयो ।
देशमा बहुदलीय प्रजातन्त्र स्थापनाको ३० वर्षसम्म पनि दलहरुको थोत्रा सैद्धान्तिक आदर्शका गफ, भाषण, झुटा आश्वासन, झुटा बाचा, एकअर्काप्रतिको गाली गलौजको भाषा सन्दासन्दै कान थाकिसकेका जनताले अहिले उपयुक्त पात्र राजनीतिमा अघि सर्दा त्यसलाई विकल्प बनाए । यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ ।
पुराना दल र तीनका नेता आफैँ भन्छन्– ‘जतालाई भाषण होइन, परिणाम चाहिएको छ । डेलिभरी चाहिएको छ । हामीले देशलाई सिंगापुर बनाउनु पर्छ ।’ तर, व्यवहारमा सिन्को भाँच्दैनन् । आम नागरिकको दैनिकी, देशको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा गर्नुपर्ने यति धेरै सुधारका काम थाती छन् कि ती सबै बिर्सिएर उनीहरु भाषण सुनाउँछन्।
धारा प्रवाह प्रवचन सुनाउँछन् । गालीगलाैज र आराेप्रत्याराेप सुनाउँछन् । जस्तो कि गगन थापा र विश्वप्रकाश शर्माहरु सुनाउँछन् । जस्तो कि केपी ओली, माधव नेपाल, झलनाथ खानाल, बाबुराम भट्टराई र पुष्पकमल दाहालहरु सुनाउँछन् ।
आफ्ना राजनीतिक शैलीमा आमूल परिमार्जन गर्न, बोली र व्यवहारबीच तादाम्यता ल्याउन उनीहरु कहिल्यै कोसिस गर्दैनन् । हात हातमा मोबाइल बोकेर इन्टरनेटको दुनियाँमा विश्व चियाइरहेका जनतालाई ‘भेडा’ ठानेर अहिले पनि उनीहरुले उपनिर्वाचनको चुनावी मैदानमा गएर यस्तै बेइमानी प्रवृत्ति र गाली गलौजको भाषा बोल्दा चितवन र तनहुँका मतदाताले उनीहरुलाई नै ‘भेडा’ प्रमाणित गरिदिए।
सबक यसैबाट पनि सिक्नुपर्ने हो बर्तमान र पूर्वप्रधानमन्त्रीहरुको झुण्डले । तर, सिक्दैनन्, सुध्रने संकेत नै देखाउँदैनन् । बरु उल्टो अरुमाथि गाली, धम्कीको भाषा बोल्दै हार अस्वीकारमा फेरि यिनिहरुको धारावाही प्रवचनको अपेक्षा गर्न सकिन्छ।
नेपाली जनता यति सहिष्णु छ कि देश विकास गर्छु भएर आउने जो कोहीलाई पनि अवसर दिएका छन् । मत दिएकै छन् । तर, परिणाम दिन नसक्नेलाई पाखा पनि लगाइरहेका छन् । जनताको मतलाई बेलैमा व्यवस्थापन गर्न सकिएन वा उपयुक्त रुपमा सम्बोधन गर्न सकिएन भने त्यसले नयाँ बाटो रोक्ने छ । अहिले त्यही भएको हो ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ साल १७ असार निर्वाचन आयोगमा दर्ता भएको हो । लगत्तै ४ मंसिर २०७९ कै चुनावमा लामिछाने नेतृत्वको रास्वपाले प्रतक्षतर्फ ७ सिटमा विजय प्राप्त गर्यो । र समानुपातिक निर्वाचन प्रणालीबाट १३ सिट लिएर प्रतिनिधि सभामा आफ्नो सम्मानजनक स्थान बनाउन सफल भएको थियो ।
स्थापनाको ६ महिना नपुग्दै आफूलाई प्रमाणित गरेर उसले यत्रो सफलता हासिल गर्नु राजनीतिमा ऐतिहासिक छलाङ मारेको हो । तर, हिजोका असहिष्णु र पुराना दलहरु उसलाई काम गर्न दिनुको साटो सिध्याउने नीतिका साथ अघि बढे ।
उसको अस्तित्व समेत स्वीकार्न कठिन मानिरहेका दलले रविलाई नजरअन्दाज गरे । जनमतको नजरअन्दाज गरे । अहिले त्यसैको परिणाम फेरि जनताले मत दिएर देखाइदिएका छन् । विगतको भन्दा फराकिलो मतान्तरले जिताएर देखाइदिएका छन् ।
टेलिभिजन कर्ममा रहँदा पनि जनजीविका, रोजगारीका विषय, सामाजिक न्यायका विषय, रोजगारीका विषय उठाएर जनतामाझ लोकिप्रय बनेका उनलाई ठुला दलको हेपाहा प्रवृत्तिले आजित जनताले मत दिए । ४ मंसिरको चुनावको प्रचारप्रसारमा उनी हरेक भाषणमा भन्ने गर्थे, ‘पटक पटक हेर्यौं अरूलाई यो पटक हेरौँ रास्वपालाई’ जनताले पनि रविलाई हेर्न चाहे ।
मंसिर ४ पछि लामिछाने नेतृत्वको पार्टी रास्वपा तत्कालीन सात दलीय गठबन्धन नेतृत्वको पुष्पकमल दाहालको सरकारमा सहभागी भयो । तर, ३३ दिनमै उपप्रधान तथा गृहमन्त्री पद र सांसदको पद समेतबाट च्युत भए ।
रविविरुद्ध नागरिकता मुद्दा चल्याे र उनलाई २०७९ माघ १३ गते सांसद बन्न अयोग्य ठहर गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले पदमुक्त गरेको थियो ।
त्यसपछि केही दिनमा उनको पार्टी रास्वपा पनि सरकारबाट बाहिरिएको थियो। उनी पनि गैरसांसदबाट निर्वाचन अगाडि नै रवि सरकारमा जान नचाहेका होइनन् तर नेत्तृत्वले नदिएपछि उनको केही लागेन । सो पछि उपनिर्वाचनको मिति घोषणा भयो।
रविले सरकारलाई दिएको समर्थन दुवै पटक कायम गरे । उनी उपनिर्वाचनमा लागे । रविलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएमा उपनिर्वाचन पछि धकेलिने संकेत पाएर नै कायम राखेको भन्नेहरू पनि प्रशस्त छन् ।
यही बेला चैत्र १६ गते अर्थविद् तथा नेपाली कांग्रेसका बौद्धिक नेता स्वर्णिम वाग्ले रास्वपामा प्रवेश गरे । उनी कांग्रेसमा सभापति शेरबाहादुर देउवा र उनकी श्रीमति आरजु राणाको शासन सहन नसकेर कांग्रेस छोडेका घोषणा गरे । त्यसपछि देशमा सुशासन र समृद्धि ल्याउने भन्दै उनी रास्वपामा प्रवेश गरे ।
कांग्रेस त्याग्दा उनले लेखेका थिए- ‘बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ-भाउजू-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ, देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।’
उपनिर्वाचनमा १ को बदला तीन लिने रविको दाउ
पहिल्यैदेखि स्वर्णिमको साथ खोजिरहेका रविले पार्टीमा भित्र्याएपछि स्वर्णिमलाई तनहुँ १ बाट जिताउन चाहे । टिकट दिए । जबकि ४ मंसिरको निर्वाचनमा इच्छा जनाउँदा जनाउँदै पनि स्वर्णिमजस्ता नेतालाई पाखा लगाएर सभापति देउवाले उनको प्रतिस्पर्धामै आउन नसक्ने केहीलाई टिकट दिएका थिए ।
तर, रास्वपाको टिकटले स्वर्णिमको संसदीय राजनीतिको ढोका खोल्नेमा उनी पनि ढुक्क देखिए । नभन्दै त्यस्तै भयो । उनका लागि संसद्को ढोका खुलेको छ ।
बारा २ बाट पूर्व डिआइजी रमेश खरेललाई उम्मेदवार बनाएको रास्वपाले त्यहाँ भने हार व्यहोर्ने निश्चित जस्तै देखिएको छ । यद्यपि, बारामा पनि आफ्नो जबरजस्त उपस्थिति जनाउन भने रास्वपा सफल भएको छ ।
१ (रवि)को बदला ३ सांसद लिएर संसद् छिर्ने बताएका रवि बारामा चुके पनि अब २ सांसद भने पाइसकेका छन् । अब २१ सांसद लिएर रास्वपा संसद्मा उपस्थित हुँदै छ ।
रवि र स्वर्णिमप्रति जनताको लहर
उपनिर्वाचनमा रवि र स्वर्णिमप्रति उर्लिएको जनताको आकर्षण र लहरले बताउँछ, अब राजनीतिमा थोत्रो आदर्शका भाषण, सैद्धान्तिक जडसुत्रहरुमा चल्दैन । लिपिबद्ध गरिएको स्पष्ट सिद्धान्त, त्यसैअनुसारको व्यवहारिक आचरण र व्यवहारिक कार्यान्वयन चाहिन्छ ।
अहिलेका ज्येष्ठ नागरिकले पनि घरका पढेलेखेका शिक्षित र देश दुनियाँ बुझेका छोराछोरी, नातिनातिनाले भनेअनुसारकै ठाउँमा मत दिन सक्छन् । राजनीतिक चेत भएकाहरूलाई त भन्नै पर्दैन ।
त्यसो हुँदा नेताहरूले अहिले पनि जनतालाई ‘भेडा’ ठान्ने दम्भ कायम नै राखे आगामी निर्वाचन मा पुराना सबैजसो दल र तिनका नेतृत्व आफैँ ‘भेडा’ प्रमाणित हुने निश्चित छ । यो आम जनताको शान्तिपूर्ण विद्रोहलाई नेताहरूले नजरअन्दाज गर्ने दम्भ र दुस्साहस फेरि पनि प्रदर्शन नगर्दा नै भलो हुने देखिन्छ ।
मंसिर ४ र वैशाख १० को फरक
चितवन-२ : ४ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनले कांग्रेसका उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । नेकपा एमालेले कृष्णभक्त पोखरेललाई उठाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पार्टी सभापति लामिछाने नै उठेका थिए ।
उक्त निर्वाचनमा ८३ हजार ९५६ जनाले मतदान गरेको निर्वाचन आयोगको तथ्याङ्कमा छ । सो बेला लामिछानेले ४९ हजार २६४ भोट पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका पोखरेलले १४ हजार ६६७ भोट ल्याएको आयोगको तथ्याङ्क छ ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले भन्दा ३४ हजार २८१ भोट बढी पाएका लामिछानेले पाएर देशमै फराकिलो मतान्तरले विजय भएका थिए ।
तर यो पटक त्यो रेकर्ड रविले ब्रेक गरेका छन् । मत परिणाम अनुसार रविले ५४ हजार १ सय ७६ मत ल्याएर विजयी भएका छन् । उनले गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ भन्दा ४२ हजार ९ सय ६३ मत बढी ल्याएका छन् । श्रेष्ठको मत ११ हजार २ सय १४ छ ।
त्यस्तै, तेस्रो स्थानमा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत ल्याएका छन् । चितवनमा यो पटक जम्मा ७८ हजार ४ सय ६६ मत खसेको थियो ।
उसो त रास्वपा उपसभापति डोलप्रसाद अर्यालले सुरुमै भनेका थिए, ‘पहिलेको जति मतदान नहोला तर रवि जीको भोट भने बढेर आउँछ ।’ नभन्दै मंसिर ४ को निर्वाचन भन्दा ५ हजार ४ सय ९० जना कम मतदाताले मतदान गरेपनि रविले पहिलेको भन्दा ४ हजार ९ सय १२ मत बढाएका छन् । यसले ठुला दललाई ठुलै झापड लागेको छ । रविले भन्दै आएको शब्द छ, ‘मलाई नचलाऊँ जनताले मेरो काम देखिसकेका छन् ।’
तनहुँ-१ : गत मंसिर ४ मा तनहुँ-१ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका थिए । लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार रहेका उनी २५ हजार ३१३ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर राना १९ हजार ९२५ मत ल्याएका थिए ।
दुईजनाबीचको मतान्तर ५ हजार ३८८ थियो । त्यो बेला कांग्रेसबाट रुष्ट बनेर स्वतन्त्र उम्मेदवार भएका गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाएका थिए भने रास्वपा का विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए । त्यो बेला सिग्देलले पाएको मतको पनि चर्चा भएको थियो ।
तर उपनिर्वाचनमा स्वर्णिमले रामचन्द्रले पाएको मतभन्दा पनि ८ हजार ८०६ मत बढी ल्याएका छन् । वाग्ले ३४ हजार ९१९ मतसहित विजयी भएका छन् ।
उनका मुख्य प्रतिस्पर्धी वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन् । यहाँ नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५५५ मत प्राप्त गरे । जुन मत एमालेले मंसिर ४ मा प्राप्त गरेको भन्दा कम हो ।
यसरी हेर्दा यी दुवै निर्वाचन क्षेत्रमा ठुला दलको मत घटेर गएको छ । सत्ता गठबन्धनको इमानदारिता पनि देखिएको छैन । किनकि ठाउँ ठाउँका वडामा कांग्रेस, माओवादीका वडा तथा टोल सदस्य सङ्ख्याभन्दा पनि पार्टीका उम्मेदवारलाई कम मत खरेको छ ।
यता एमालेको पनि हालत उस्तै छ चुनाव लगतै ‘मिसन ग्रसरुट’ अभियान चलाएर जनता अल्झाएर भोट बैंक बनाउन खोज्ने एमालेको सपना अहिले भताभुङ्ग भएको छ ।
अब नैतिक इमानदारितामा आधारित भएर डेलिभरीको राजनीति गर्ने दिशामा पुराना दल पन अघि बढ्नु आवश्यक छ । नत्र २०८४ को चुनावमा ठूला दलको पगरी पनि कांग्रेस एमालेबाट सोरिएर रास्वपामा आउने निश्चित छ ।
पार्टी स्थापनाको एक वर्ष नबित्दै संसदीय राजनीतिमा नयाँ रेकर्ड बनाएको सम्भवतः यो नेपाली राजनीतिको इतिहासमै नयाँ रेकर्ड हो । रास्वपाले व्यवहारिक डेलिभरीको राजनीतिमा पनि नयाँ ऐतिहासिक रेकर्ड बनाओस् । जनताको अपार माया, सद्भाव, विश्वास र भरोसा नतोडोस् । जनपक्षीय काम गरोस् ।