कहाँ हरायो तनहुँमा एमालेको साढे ११ हजार मत ? कांग्रेसले पनि गुमायो साढे ५ हजार

पोखरा । तनहुँमा मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवारले करिब २० हजार मत ल्याएका थिए । कांग्रेसका रामचन्द्र पौडेले २५ हजार मत सहित निर्वाचित हुँदा एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत ल्याएर दोस्रो बने ।

पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि भएको तनहुँको उपचुनावमा एमाले रणनीति यही थियो, ‘अघिल्लो चुनावको मत जोगाउन सके जितिन्छ ।’ पार्टीका आन्तरिक बैठकहरूमा यही ब्रिफिङ हुन्थ्यो भने उम्मेदवार सर्वेन्द्र खनालले पनि एमालेकै मत जोगाउने गरी घरदैलोमा केन्द्रित भए ।

एमालेको कल्पना अनुसार माओवादीले कांग्रेसलाई मत नदिने र कांग्रेसले नै ल्याएको मतमध्ये करिब ५ हजार मत घण्टीमा पर्छ भन्ने थियो । कांग्रेसको मत हेर्दा करिब त्यस्तै देखियो पनि । २५ हजार मत अघिल्लो पटक ल्याएको कांग्रेसले अहिले २० हजार मात्रै ल्यायो । माओवादीको मत पनि अपेक्षाकृत कांग्रेसले पाउन सकेन । तर एमालेको रणनीतिले भने फेल खायो । करिब २० हजार मत अघिल्लो चुनावमा पाएको एमालेले अहिले करिब ११ हजार मत कम पायो ।

यसको प्रमुख कारण थियो, मंसिरमा भएको निर्वाचनमा काठमाडौँ ६ बाट पराजित सर्वेन्द्र खनाललाई उम्मेदवार बनाइनु । एमाले नेताहरूका अनुसार खनालको चुनावी कमाण्डर छनोटमा पनि पार्टीले सावधानी अपनाएन । तनहुँमा जन्मिएको दाबी गरेका खनाललाई तनहुँवासीले स्विकारेनन् । एमालेले वैशाख ५ गते दमौली र डुम्रेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीकै उपस्थितिमा चुनावी सभा गर्ने निर्णय गरेको थियो । तर ओली अस्वस्थ भएपछि कार्यक्रम स्थगित भयो ।

एमाले यहीँबाट पनि कमजोर साबित भयो । वैशाख ३ गते रास्वपाको चुनावी सभामा उत्साहजनक उपस्थिति रहनु र कांग्रेसको सभामा खासै चाखलाग्दो उपस्थिति नहुनुले एमालेले आफ्नो अनुमान फेर्नुपर्ने थियो । त्यसो त कांग्रेसले भने आफ्नो करिब ५ हजार मत गुम्ने अड्कल पहिले नै लगाएको हो । तर एमालेले आफ्नो मत संरक्षण गरिदिए आफूले चुनाव जित्ने दाउ कांग्रेसको थियो । कांग्रेसले पनि कल्पना गरेको थिएन कि एमालेले ११ हजार मत गुमाउँछ भन्ने ।

एकातिर एमाले उम्मेदवार कमजोर हुनु र अर्कोतिर रास्वपाको रापताप बढ्दै जानुले कांग्रेस चेपुवामा प-यो । कांग्रेसले पनि चुनावी रणनीति सही बुन्न सकेन । नेताहरूले गरेका भाषणहरूबाटै मतदाता भड्किए । मनोनयनकै दिन महामन्त्री गगनकुमार थापाले रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्ले विरुद्ध गरेको भाषण धेरैलाई पाच्य भएन । जसका कारण केही हजार मत ‘डाइभर्ट’ भयो । चुनावी सभाहरूमा प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरूको भाषणपनि चाखलाग्दो थिएन । उल्टै ब्याक फायर हुने खालको थियो ।

स्रोतका अनुसार एमालेले चुनाव नजित्ने भएपछि कांग्रेसलाई रोक्न केही नेताहरूले घण्टीमा मतदानका लागि सर्कुलर गरेका थिए । ‘एमालेले चुनाव जित्ने छाँटकाँट देखिएन । केही जिल्लाका नेताहरू उम्मेदवार छनोटदेखि चुनावी कमाण्डर छनोटसम्ममा रिसाएका थिए,’ एक नेताले भने, ‘नेताहरू खुलेर भोट माग्न हिँडेको पनि देखिएन । पार्टीले विचार नपु-याउँदाको नतिजा चुनावमा देखिएको हो । पार्टी त जिल्लामा यति कमजोर होइन ।’ सर्वेन्द्रको कमाण्डर बनेर आएकी थिइन् राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने । कतिपय वडामा त एमालेले संगठित सदस्य भन्दा पनि कम मत पाएको छ । केही वडामा १ सय भन्दा कम मत परेको छ ।

कांग्रेस तुलनात्मक रूपमा केही कमजोर भएपनि आफ्नो मत धेरै गुमाएको भने छैन । कांग्रेसले दिएको उम्मेदवारको व्यक्तित्वका कारण पनि कांग्रेसको मत केही हदसम्म जोगिएको नेताहरू बताउँछन् । ‘पहिले देखि नै गाउँ ठाउँको विकासमा काम गर्दै आएको मान्छे । अहिलेसम्म अवसर नपाएको मान्छे र इमानदार भएका कारण उहाँ विरुद्ध मतदाताको आक्रोश थिएन,’ जिल्लास्तरका नेताहरू भन्छन्, ‘बरु पार्टीको कार्यशैली विरुद्ध पहिले देखि नै मतदाताहरूले गुनासो गरिरहेका थिए । केही नेताहरूले पार्टी छोडेर जाँदा झनै नोक्सानी भयो । व्यक्ति विरुद्ध भन्दा पनि तनहुँका मतदाता कांग्रेस पार्टीको नेतृत्वको विपक्षमा उभिएका छन् ।’

एमाले तनहुँ १ को ४२ वडा मध्ये देवघाट गाउँपालिका वडा नम्बर १ मा मात्रै पहिलो भएको छ । भानुका १३ वटै वडामा रास्वपा पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो भयो । देवघाटका २, ३ र ४ नम्बर वडामा कांग्रेस पहिलो, रास्वपा दोस्रो र एमाले तेस्रो भयो । आँबुखैरेनीका ६ वटै वडामा रास्वपा पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो भयो । व्यास ८ र १४ नम्बर वडामा कांग्रेस पहिलो भयो भने रास्वपा दोस्रो र एमाले तेस्रो भयो । ब्यासका पनि बाँकी वडाहरूमा रास्वपा नै पहिलो बनेको छ । कांग्रेस दोस्रो र एमाले तेस्रो बन्यो ।

कांग्रेस र एमाले पहिलो बनेको वडामा निकै कम मतान्तर छ । रास्वपा पहिलो बन्दा फराकिलो अन्तर भयो । उपचुनावमा रास्वपाका स्वर्णिमले ३४ हजार ९ सय १९, कांग्रेसका भट्टराईले २० हजार १ सय २२ र एमालेका खनालले ८ हजार ४८८ मत पाए । मंसिरको चुनावमा कांग्रेसले २५ हजार ३ सय ६१, एमालेले १९ हजार ९ सय ८१ र रास्वपाले ६ हजार ४४ मत पाएका थिए । पूर्व कांग्रेस गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ मत पाएर तेस्रो बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *