बारामा रास्वपाको जमानत जफत, रमेश खरेलले ६ महिनामै दोस्रोपटक पराजय बेहोरे
काठमाडौँ । बारा-२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएको छ । चितवन-२ र तनहुँ-१ मा सानदार जित निकालेको रास्वपाले बारा २ मा भने जमानत जोगाउन पनि नसकेको हो ।
उपनिर्वाचनकै मुखमा ‘घण्टी’ समातेका रमेश खरेलले ६ महिनामै दोस्रोपटक पराजय बेहोरे । गत ४ मंसिरको निर्वाचनमा उनी काठमाडौँ-१ बाट प्रतिस्पर्धामा थिए । तर, सो चुनावमा उनी पाँचौँ भए । ५ वर्ष धैर्य नगरी उपनिर्वाचनबाट सांसद सपना बुनेका खरेलले बारा-२ मा जमानत पनि जोगाउन सकेनन् ।
निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याएपछि उनको जमानत जफत भएको हो । बुधबार बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार खरेलले २ हजार ८ सय २९ मत प्राप्त गरे । बारा-२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ ।
जसअनुसार रास्वपा उम्मेदवार खरेलले पाएको मत ४.१४ प्रतिशत रहेकाले उनको जमानत जफत भएको हो । बारा-२ मा जमानत जफत हुने खरेल एक्ला भने होइनन् । त्यहाँ उनीसहित ३१ उम्मेदवारको जमानत जफत भएको छ ।