योग्यताक्रम विपरीतकाे भर्ना प्रक्रियाविरुद्ध चिकित्सकको प्रदर्शन

काठमाडाैँ ।  एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियाबिरुद्ध चिकित्सकहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । बुधवार माईतीघर मण्डलामा भेला भएर चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियाबिरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कञ्चन दुवाडीले आफूहरुले चिकित्सा शिक्षा आयोगले जारी गरेको नतिजामा योग्यताक्रम मिचिएका कारण आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।

त्यस्तै डा. विपुल लामिछानेले मेरिटोक्रेसी कायम गर्न अदालतले आदेश दिए पनि चिकित्सा आयोगले पालना नगरेको आरोप लगाए । उनले दक्षताको मात्रै समस्या नभइ छात्रवृत्ति र पैसा तिर्ने कुरामा पनि समस्या रहेको बताए । त्यस्तै प्रदर्शनकारी डा. छवि पन्थीले चिकित्सा शिक्षा आयोगले गत सालको पौष २ गते परीक्षा लिएको र त्यसको नतिजालाई वैज्ञानिक व्यवस्थापन नगरी हचुवाका आधारमा भर्ना प्रक्रिया अघि बढाएकोप्रति आन्दोलन गरेको बताए । उनले चिकित्सा शिक्षा आयोगसँग सम्बन्धित क्याम्पसहरुले धम्कीपूर्ण रुपमा विद्यार्थीहरुलाई दबाब दिइरहेको बताए । उनले आफ्नो माग पूरा नभएसम्म निरन्तर विरोधका कार्यक्रम अघि बढाइरहने चेतावनी दिए ।

त्यस्तै प्रदर्शनकारी डा. श्वेता कर्णले चिकित्सा शिक्षा आयोगले आफूहरुमाथि अन्याय गरेको भन्दै दक्षताअनुसार पढ्न पाउनुपर्ने बताए । उनले मुद्दा विद्यार्थीको पक्षमा आए पनि चिकित्सा शिक्षा आयोगले पालना नगरेको बताए ।

उनीहरुले आज तपाईलाई बचाउने हातहरुले न्याय पाएनन्, भोलि कसको पालो ?, शास्त्रमा लेख्नलाई छुट्या मात्र हो, चिकित्सा भर्नामा जात्रा भयो, श्रीकृष्ण हो की सकुनी हो, अदालतको कुरा नसुन्ने हो ? हेर बुझ साथी हो, के चिकित्सा आयोग न्याय भन्दा माथि हो ? जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । उनीहरुले विगत ४ महिना यता आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *