समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न सांसद देवकोटाको प्रस्ताव
काठमाडौँ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न प्रस्ताव गरेका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।
उनले समानुपातिक, समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरेर समानुपातिक प्रणाली खारेज गर्नुपर्ने प्रस्ताव राखेका हुन् । त्यस्तै, उनले अधिकतम १६५ सदस्यीय प्रतिनिधि सभा र ३३० सदस्यीय प्रदेश सभा बनाउनु पर्ने समेत बताए ।
त्यस्तै, प्रधानमन्त्रीको कार्यकालमा एक व्यक्ति बढीमा २ पटक, सांसद वा मन्त्रीमा ३ पटक र पार्टीको नेतृत्व २ कार्यकालभन्दा बढी गर्न नपाउने व्यवस्था गर्न पनि प्रस्ताव गरेका छन् ।
‘प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सांसद वा मन्त्री तीन पटक र पार्टी दलको नेतृत्व दुई कार्यकाल भन्दा बढी नहुने व्यवस्था गरौँ,’ उनले भने, ‘समानुपातिक, समावेशि सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँु, उनले भने, ुप्रतिनिधि सभा र प्रदेश सभाको संख्या २७५ र ५५० बाट घटाएर क्रमशः १६५ र ३३० मात्र बनाऊँ ।’
अदालत, संवैधानिक निकाय, कुटनीतिक निकाय(राजदूत), विश्वविद्यालय जस्ता क्षेत्रमा दलीय भागबण्डाका आधारमा नियुक्ति गरिने प्रचलन निर्मूल पारेर योग्य व्यक्तिको नियुक्ति गर्नुपर्ने माग गरे ।
सरकारले जनताका गुनासा तत्काल सम्बोधन गर्ने संयन्त्र बनाउनुपर्ने, सुशासनको प्रत्याभूति दिलाउनु पर्ने बताए ।