अध्यक्ष ओलीमाथि झापामा सत्तापक्षका कार्यकर्ताले ढुंगामुढा गरे : सांसद गिरी
काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले पार्टीका अध्यक्ष केपी शर्मा ओली सहभागी झापाको बुधबारेमा आयोजित कार्यक्रममा सत्तापक्षकै कार्यकर्ताहरुले अबाञ्छित गतिविधि गरेको भन्दै आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै प्रमुख सचेतक गिरीले पार्टीद्धारा आयोजित सो कार्यक्रममा पार्टी अध्यक्ष ओली सहभागी कार्यक्रम बिथोल्ने, ढुंगामुडा गर्ने काम गरेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले मुलुकको शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको सत्तापक्षले नै अध्यक्ष ओली सहभागी कार्यक्रममा होहल्ला गर्ने, ढुंगामुडा गर्ने र कार्यक्रम नै बिथोल्ने प्रयास गरेको भन्दै आक्रोश व्यक्त गरे । प्रमुख सचेतक गिरीले मुलुकको शान्ति, समृद्धि र विकासका लागि रचनात्मक ढंगले भूमिका निर्वाह गरिरहेको आफ्नो पार्टीको नेतृत्वमाथि त्यस्ता खालको हर्कत हुन्छ भने एमालेलाई सैह्य नहुने चेतावनी समेत दिए ।
उनले भने, ‘एमालेको नेतृत्वमाथि जुन प्रकारको ढुंगामुडा गर्ने कोसिस गरिन्छ । अनेकन ढंगले कार्यक्रम भाँड्ने कोशिस गरिन्छ । अशान्ति पैदा गर्ने कोशिस गरिन्छ । त्यसमा सत्तापक्षकै कार्यकर्ताहरु घुसपैठ गरिएको छ । र, त्यहाँभित्र सहभागी गराउने काम हुन्छ । मुलुकमा शान्ति स्थापना गर्ने दायित्व सत्तापक्षको हो कि होइन ? त्यो जिम्मेवार हुनुपर्छ कि पर्दैन ? हामी प्रतिपक्षमा बसेर अन्याय सहन गर्नुपर्ने कुनै कारण छैन सभामुख महोदय ।’
प्रमुख सचेतक गिरीले प्रमुख प्रतिपक्षजस्तो पार्टीलाई जिस्क्याउने काम नगर्न पनि सत्तारुढ दल र सरकारलाई सचेत गराए ।