मनमोहनले दिन सुरु गरेको ज्येष्ठ नागरिक भत्ता नेपालीले बिर्सेका छैनन् : झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले मनमोहन अधिकारीको योगदान महत्त्वपूर्ण र अविस्मरणीय रहेको बताएका छन् ।

वैशाख १३ गते २४ औँ मनमोहन स्मृति दिवसको अवसरमा नेता खनालले सामाजिक सञ्जालमा लेख्दै नेपालका प्रथम कम्युनिस्ट तथा लोकप्रिय प्रधानमन्त्री दिवङ्गत कमरेड मनमोहन अधिकारी प्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धा सुमन व्यक्त गरे ।

खनालले लेखेका छन्, ‘नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा दिवङ्गत क। मनमोहन अधिकारीको योगदान महत्त्वपूर्ण र अविस्मरणीय छ । वहाँले छोटो समय मात्र सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभयो । तथापि छोटो समयमा नेपाली राजनीति र समाजलाई दूरगामी प्रभाव पार्ने र सदैव स्मरणमा रहिरहने काम गर्न सफल हुनुभयो । दिवङ्गत मनमोहन अधिकारीले जीवनभर आफूलाई मुलुक र नेपाली जनताको हक, हितको रक्षामा समर्पित गर्नुभयो । खासगरी आफ्नो प्रधानमन्त्रीत्व कालमा सुरु गर्नुभएको ज्येष्ठ नागरिक भत्ता, आफ्नो गाउँ आफैं बनाउँ जस्ता कार्यक्रमहरू आजसम्म पनि हरेक नेपालीले बिर्सन सकेका छैनन् । तसर्थ, वहाँले नेपाली कम्युनिस्ट आन्दोलनमा गर्नुभएका योगदानहरू र वहाँले गर्नुभएका अनुकरणीय कामहरूबाट शिक्षा लिँदै बृहत् वामपन्थी एकता मार्फत समाजवादको लक्ष्य तर्फ अघि बढ्न म सबैलाई आह्वान गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *