ललितपुरमा छुटेका बालबालिकालाई विशेष खोप लगाइने


ललितपुर । ललितपुर जिल्लामा खोप लगाउन छुटेका बालबालिकालाई दुई दिन विशेष खोप कार्यक्रम हुने भएको छ ।
बुधबार स्वास्थ्य कार्यालय ललितपुरमा बसेको जिल्ला पूर्ण खोप समन्वय समितिको बैठकले आगामी वैशाख १५ र ३१ गते खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकालाई खोप सञ्चालन गर्ने निर्णय गरेको हो ।
खोप कार्यक्रम ६ वटै पालिकाका ७१ वटै वडा र केही सार्वजनिक स्थानको खोप केन्द्रबाट हुने स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख तथा पुर्ण खोप समन्वय समितिका सदस्यसचिव डा.अर्जुन सापकोटाले जानकारी दिए ।
यसअघि विभिन्न कारणले खोप लगाउन छुटेका सबै बालबालिकालाई दुईदिनको विशेष अभियानमा समेट्न जिल्लाका सबै संयन्त्र परिचालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।
‘खोप लगाउनबाट बालबालिका छुटे विभिन्न रोग फेरि फर्कन सक्छ, त्यही भएर प्रचार–प्रसार गर्ने, वडालाई चनाखो बनाउने गर्नुपर्छ,’ सिडिओ आचार्यले भने ।
विशेष खोप कार्यक्रमका लागि पाटन अस्पतालले दुई दिन नै विशेष बुथ राख्ने भएको छ ।
यस्तै बैठकले पूर्ण खोप कार्यक्रममा कोही छुट्न नदिन पोस्टर, ब्यानर सवारी साधनमा राखेर प्रचार गर्ने र पालिकाका वार्ड स्वयंसेविकालाई प्रभावकारी ढङ्गले परिचालन गरेर पूर्ण खोप अभियान सम्पन्न गर्ने निर्णय गरेको सदस्य सचिव सापकोटाले बताए ।
‘विगतमा खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाउन सबैको सहयोगको अपेक्षा राखेका छौँ,’ सापकोटाले भने, ‘नयाँ ढङ्गले कार्यक्रम गर्छौँ ।’
२०७४ वैशाख १४ गते ललितपुर जिल्ला पूर्ण खोप लगाएको जिल्ला घोषणा भएको स्वास्थ्य कार्यालय ललितपुरका अधिकृत पार्थमणि न्यौपानेले जानकारी दिए ।
यस पटक जनप्रतिनिधि, सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सेना, प्रहरी, बुद्धिजीवी लगायत सबै तहका व्यक्तिहरूको साथ लिने उनले बताए ।
पूर्ण खोप कार्यक्रमका लागि प्रत्येक वर्षको चैत्रभित्र स्वास्थ्यकर्मीले घरधुरी सर्वेक्षण गरेको उनको भनाई थियो ।
