गृहमन्त्रीसँग सुनिताले भनिन्-‘नागरिकले असुरक्षित महशुस गरिरहेका छन्’
काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मानिसहरुले आफू सुरक्षित नभएको आभाष गर्न थालेको बताएकि छन् ।
बिहीबार गृहमन्त्रालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयास र काठमाडौँको कपनमा वैशाख ७ गते भएको निरा आचार्यको हत्याको विषयलाई लिएर गृहमन्त्रीको ध्यानाकर्षण गराउन पुगेकी उनले नागरिकले असुरक्षित महशुस गरिरहेको बताएकी हुन् ।
उनले अहिले मानिसहरु एकले अर्कोसँग डराउनुपर्ने अवस्था सिर्जना भएको बताइन् । उनले ८ दिन बितिसक्दासमेत हत्यारा पत्ता नलाग्नुले जनतामा झनै त्रास बढेको बताइन् । अपराधिक घटनाक्रमलाई रोक्न नेपाल प्रहरीसँग मिलेर काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकामा सिसि क्यामेर जडान गर्ने प्रक्रिया अघि बढाएको पनि बताइन् ।
उनले भनिन् ‘अनुसन्धान भइरहेको छ । अनुसन्धानबाट छिटै नै निचोड आउने प्रतिवद्धता पाएका छौँ । कसरी र के भएको हो भन्ने कौतुहलता छ, साथै एक अर्कासँग डराउनुपर्ने त्रासपूर्ण वातावरण बनेको छ । महानगरपालिकाले पनि शान्ति सुरक्षामा प्रहरीसँग नजिकबाट समन्वय गरिरहेका छौँ । महानगरले पनि महानगरभित्र प्रहरीसँग हरेक ठाउँमा सिसि क्यामेरा राख्ने जडान गर्ने भनेका छौँ । हामीले ८ दिन बितिसक्दा पनि बाहिर नआउनु हामी सबैका लागि हामी यहाँ सुरक्षित छौँ की छैनौँ भन्ने प्रश्न आएको छ ।’
उपप्रमुख डंगोलले महानगरपालिका शान्ति सुरक्षाका लागि नेपाल प्रहरीसँग समन्वय गरेर अघि बढीरहेको पनि बताइन् ।