गण्डकीमा आलोपालो मुख्यमन्त्री, मन्त्रालयको संख्या नबढ्ने
पोखरा । नयाँ मुख्यमन्त्री नियुक्त भएसँगै गण्डकीमा पुनः मन्त्रालयको संख्या बढ्ने धेरैको आकलन छ ।
तर मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले अहिले मन्त्रालयको संख्या नबढ्ने बताएका छन् । नियुक्ति पछि उनले भने, ‘मन्त्रालयको संख्या ७ वटाबाट बढ्दैन ।’ अहिले गण्डकीमा ७ मन्त्रालय छ । यसअघिको सरकारले १२ मन्त्रालय घटाएर ७ मा झारेको थियो ।
पाण्डेले आज शपथ लिँदै छन् । उनले आफूसँगै थप मन्त्रीहरूलाई लिएर जान लागेका छन् । त्यसका लागि दलहरू आन्तरिक छलफलमा छन् । ‘एक्लै नभई केही साथीहरू लिएर शपथ लिन्छु । गठबन्धन दलसँग समन्वय गरेर मन्त्रीपरिषद् विस्तार हुन्छ,’ उनले भने, ‘दलहरुबीच न्यूनतम साझा कार्यक्रम तय गर्छौं र बजेटको पनि छलफलमा प्रवेश गर्छौं ।’
अहिले बनेको गठबन्धन पूरै समय जाने र मुख्यमन्त्रीमा आलोपालो हुने पाण्डेको भनाई छ । ‘यो संसद्को जति समय बाँकी छ, त्यो समयसम्म यो गठबन्धन रहन्छ । हामी आलोपालोमा सरकार चलाउँछौं,’ उनले भने । मन्त्रीपरिषद् विस्तार छिट्टै पूर्ण हुने पाण्डेले सुनाए ।