प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरु, कसले के भने ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले शैक्षिक संस्थामा राजनीतिक दलका भ्रातृ संगठनको गतिविधि बन्द गर्नुपर्ने बताएका छन् ।
शुक्रवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य श्रेष्ठले शैक्षिक संस्थाहरूमा राजनीतिक दल र तिनका भ्रातृ संगठनका गतिविधिहरू बन्द हुनुपर्ने बताएका हुन् ।
उनले माध्यमिक तहको विद्यालयमा दलहरूले गर्ने गतिविधि बन्द नभएमा त्यहाँ पनि विद्रोह हुने चेतावनी दिए । उनले राजनीतिक दलहरूलाई विद्यालयमा भातृ संगठनहरुको राजनीति बन्द गराउन अनुरोध पनि गरे ।
उनले भने ‘प्रचलित शिक्षा ऐन र नियमावली विपरीत राजनीतिक दल र भ्रातृ संगठनका गतिविधि गरेको भन्ने कुराको हामीलाई ध्यानाकर्षण भएको छ । हामी निर्वाचित भएका क्षेत्रका विद्यालयमा झण्डाहरु सहित नै राजनीतिक दलका भ्रातृ संगठनहरुले कार्यक्रमहरू गरेको भन्ने गुनासो आएको छ । त्यसलाई रोक्न खोज्दाखेरी त्यहाँ भातृ संगठनले अभद्र व्यवहार गरेको भन्ने जानकारी आएको छ
। विद्यार्थीको भविष्यसँग खेलबाड गर्न पाइँदैन भनेर सबै राजनीतिक दलहरूलाई निवेदन गर्न चाहन्छु । अब यस्ता खालका राजनीतिक गतिविधि र माध्यमिक तहको विद्यालयमा राजनीतिक दलहरूले गर्ने गतिविधि बन्द भएन भने त्यहाँ पनि विद्रोह हुन्छ भन्ने कुराको चेतावनी दिन चाहन्छु । भ्रातृ सङ्गठनहरूलाई राजनीतिक दलहरूले अहिले नै सु–संस्कृत तरिकाले सम्झाएर विद्यालयमा राजनीति बन्द गर भनेर अनुरोध पनि गर्न चाहन्छु ।’
प्रतिनिधि सभा सदस्य विनिताकुमारी सिंहले सरकारी निकायमा घुसबिना कुनै पनि काम हुन नसक्ने अवस्था रहेको भन्दै बेथितिको अन्त्यका लागि राज्यले कडा कदम चाल्नुपर्ने बताए । उनले सरकारी निकायमा सिसि क्यामेरा जडान गर्नुपर्ने बताए ।
उनले भने ‘सरकारी निकायमा बिना घुसको कुनै पनि काम नहुने अवस्था छ । खास गरी अदालत, मालपोत, नापी शाखा तथा यातायातमा खुल्ला रुपमै घुस लिने गरेको अवस्था छ । यसले के बताउँछ भने सरकार नागरिकप्रति पूर्ण जिम्मेवार छैन । घुस लिने र दिने प्रणालीको कारण सर्वसाधारण, गरिब, दलित तथा अति विपन्न वर्गहरू मार खेपिरहेका छन् । एक हप्तामा हुने काम बिना घुसले हप्तौँ
लगाउँछ । त्यसैले यस्ता बेथिति छिट्टै अन्त्य गर्न राज्यले कडा कदम चाल्नुपर्ने अवस्था देखिन्छ । हरेक सरकारी निकायमा सिसि क्यामेरा जडान गर्न र कतिपय ठाउँमा बन्द भएको सिसि टिभी क्यामेरा पूर्ण सुचारु गर्न सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेले सरकारले अयोग्य लडाकुलाई २ लाख रुपैयाँका दरले पैसा बाँड्ने कार्यविधि पारित गरेको भन्दै त्यसको विरोध गरे । उनले सरकारले सो कुरा तत्काल फिर्ता लिनुपर्ने बताए । उनले भने ‘देशको यस्तो आर्थिक अवस्था भएको बेलामा अयोग्य लडाकुलाई २÷२ लाख पैसा बाँड्ने कार्यविधि पारित भयो भनेर गृह मन्त्रालयको प्रवक्ताले जुन कुरा बोलेका छन् । त्यसमा मेरो गम्भीर आपत्ति छ । यो कुरा तत्काल सरकारले फिर्ता लेओस् । र आर्थिक अवस्थालाई सुदृढ गर्नका निमित्त यस्ता किसिमका क्रियाकलापहरू आउने दिनमा पनि बन्द गरियोस् भनेर माग गर्दछु ।’
प्रतिनिधि सभा सदस्य सन्तोष परियारले देशको शिक्षा क्षेत्र राजनीतिकले जर्जर बनाएको बताएका छन् । उनले त्रिभुवन विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउनुपर्ने बताए ।
प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले पृथ्वी लोक मार्गको बिस्तारको क्रममा तनहुँको घाँसी कुवालाई व्यवस्थापन गर्नुपर्ने बताए ।
उनले भने ‘तनहुँ जिल्ला हुँदै पोखरा पुग्ने पृथ्वी लोक मार्गको बिस्तार भइरहेको छ । यो आवश्यक छ । तर यसले सर्वसाधारण जनताको दैनिकीमा असुविधा पनि ल्याएको छ । जनस्वास्थ्यका दृष्टिले धुलामय सडक र राइट अफ वे स्थापित गर्दा घाँसी कुवा लगायतका ऐतिहासिक र पुरातात्त्विक महत्वका संरचनाहरूको उचित व्यवस्थापन गर्नुपर्ने म देख्दछु ।’
प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा उपचार भइरहेको विषय सरकारले सदनमा जानकारी गराए ।
उनले भने ‘भएको के हो ? सामान्य पेट दुख्दा एयर एम्बुलेन्स खर्च गर्नुपर्ने यति समृद्ध, यति हैसियतवाल मुलुक नेपाल रहेको हो कि होइन ? यस बारेमा म सरकारलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु । अझ प्रधानमन्त्रीले राष्ट्रपतिलाई जोड गरेर भारत पठाउनुभएको भन्ने राष्ट्रपतिको कार्यालयको वक्तव्यमा छ । यसबारेमा स्पष्ट पारियोस् ।’
प्रतिनिधि सभा सदस्य हरि ढकालले नेपालको पुजिबजार विगत २० महिनादेखि निरन्तर घट्दो अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
उनले भने ‘५६ लाख लगानीकर्ताले लगानी गरेको नेपालको पुँजी बजार विगत २० महिनादेखि निरन्तर घटेको छ । लगानीकर्ताहरूले करिब १७ खर्ब आफ्नो लगानी गुमाइसके । नियामकले मौद्रिक नीतिमार्फत गलत औजार प्रयोग गर्याे, अव्यवहारिक औजार प्रयोग गर्याे । जसका कारण २० महिना अगाडी नेपालको पुँजी बजारले मासिक ३।२५ अर्ब राजश्व योगदान गथ्र्याे । अहिले जम्मा महिनाको ५ करोड मात्रै योगदान गर्नसकेको छ । यो विषयमा संवेदनशील हुन अर्थमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गराउँदछु ।’
प्रतिनिधि सभा सदस्य हीतराज पाण्डेले बाँकी रहेका शान्ति प्रक्रियाका कामहरू टुङ्ग्याउनका लागि सरकार र सदनको ध्यानाकर्षण गराए । उनले भने ‘हामी अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आएका छौँ । यसका लागि जनयुद्ध, जनआन्दोलन लगायत हजारौँ शहीदहरूको बलिदान दिनुभएको छ । अझै हजारौँ बेपत्ता योद्धाहरू हुनुहुन्छ । शान्ति प्रक्रियाका कयौँ कामहरू बाँकी नै छन् । यी सबै कामहरूलाई हामीले सक्नुपर्नेछ । त्यसका लागि सदनको, सरकारको म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
शुन्य समयमा बोल्ने अन्य सांसदहरूले पनि समसामयिक विषयमहरुमा आफ्नो धारणा र आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणको काममा देखिएको अवरोधहरूको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका थिए ।