वर्षाले नेपाल र कुवेतबीचको खेल पुनः रोकियो
काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल र कुवेतविरुद्धको खेल वर्षाका कारण पुनः स्थगित भएको छ ।
टियु मैदान कीर्तिपुरमा भइरहेको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभर ब्याटिङ गरेपछि पानी परेर खेल पुनः स्थगित भएको हो ।
स्थगित हुनुअघि कुवेतले ६ विकेट गुमाउँदै ३७ रन बनाएको खेलमा नेपालका करण केसी एक्लैले ५ विकेट लिन सफल भए भने सोमपाल कामीले एक विकेट लिएका छन् ।
यसअघि नेपालले ब्याटिङ गर्दा २३.२ ओभर ब्याटिङ गरेपछि खेल वर्षाका कारण स्थगित भएपछि खेललाई ४२ ओभरमा घटाइएको थियो ।
यदि पानी परेका कारण डीएल मेथडमा खेलको नतिजा लिन परे कुवेतले २० ओभरमा १ सय ९४ रन बनाउनु पर्नेछ ।
त्यस्तै, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ९४ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । भने, कुशल मल्लले ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय ईनिङ खेले ।
साथै, ओपनर द्वय आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ६५ बलमा ७७ रनको साझेदारी गरेका थिए ।
लगत्तै तीन विकेट गुमाएको नेपालका लागि चौथो विकेटका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले १ सय ९ रनको सानदार साझेदारी गरे । मल्ल सयद मोईबको बलमा ५७ रन बनाउँदै आउट भएपछि साझेदारी तोडिएको थियो ।
आरिफ शेखले १९ बलमा २ चौका तथा १ छक्काको सहयोगमा १९ रन बनाए । भने, सोमपाल कामीले ११ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित १३ रन बनाए ।
साथै, कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान ३/३ तथा सयद मोनिव र भासिन पटेलले समान १/१ विकेट लिए ।
आजको खेलको विजेताले दोस्रो सेमिफाइनलको विजेता टोलीसँग फाइनलमा भिड्ने छ । च्याम्पियन टोलीले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा सहभागिता जनाउने छन् ।
यो खेलमा कुवेतलाई हराए नेपालले फाइनलमा यूएई अथवा ओमानसँग खेल्नेछ ।
शीर्ष तीनमा रहने देशले भने एसीसी ईमर्जिङ कप खेल्नेछ ।