नेपालमा आगामी एक सातासम्म वर्षाको अनुमान
काठमाडौं । आज मौसमा देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
कोशी प्रदेशका तराई भू-भागका एक दुई स्थानमा हावाहुरीको सम्भावना छ । पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम हुँदै शुक्रबार भित्रिएको वर्षा गराउने प्रणाली नेपालमा सक्रिय भएपछि शनिबार बिहानैदेखि वर्षा सुरु भएको थियो । भारतको उत्तराखण्ड र पश्चिम भेग हुँदै नेपाल प्रवेश गरेको जलवाष्पयुक्त प्रणालीले देशका सातै प्रदेशका पहाडी भेगमा वर्षा गराएको मौसमविद् गोविन्द झाले बताए । उनकाअनुसार पूर्वतर्फ सर्दै गरेको प्रणाली तराई भेगका सबै स्थानमा वर्षा गराउने गरी अघि बढेको छ ।
उनले सोमबार वर्षा कम भए पनि फेरि अर्को प्रणाली भित्रनेक्रममा रहेकाले वर्षा दोहोरिने जानकारी दिए । माटो भिज्ने गरी वर्षा हुने भएकाले पूर्वमनसुन सक्रिय हुनु किसानका लागि राहत हुनेछ । केही दिनयता ह्वात्तै बढेको गर्मीबाट पनि यो वर्षाले शीतल प्रदान गरेको छ ।