गण्डकीका मुख्यमन्त्रीले साता दिनभित्रै विश्वासको मत लिने, त्यसपछि क्याबिनेट विस्तार
पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले १ साताभित्रै विश्वासको मत लिने तयारी गरेका छन् । मन्त्रीपरिषद् विस्तार गर्नुअघि नै विश्वासको मत लिने तयारीमा लागेका हुन् । शुक्रबार २ जना मन्त्री लिएर शपथ ग्रहण गरेका पाण्डेले मन्त्रीपरिषद् विस्तारमा अड्चन आउने देखेर पहिले विश्वासको मत लिन लागेका हुन् ।
अहिले कांग्रेसबाट सरस्वती अर्याल र माओवादीबाट सुशीला सिंखडा विना विभागीय मन्त्री छन् । सत्तारुढ दलभित्र मन्त्री बन्न आकांक्षीहरुको लर्को छ । केही सांसदहरू समर्थक लिएर काठमाडौं पुगेका छन् । पाण्डेले १ साताभित्रै मन्त्रीपरिषद्लाई पूर्णता लिने घोषणा गरिसकेका छन् ।
‘प्रदेशमा मन्त्रालय ७ बाट बढ्दैन । मन्त्रीपरिषद् ७ दिनभित्र पूर्ण हुन्छ ,’ उनले पदस्थापनको समयमा भनेका थिए । माओवादी र एकीकृत समाजवादीको समेत समर्थनमा पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । ८ सांसद (सभामुख सहित) रहेको माओवादीले कम्तीमा ३ मन्त्रालयमा दाबी गरेको छ । स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङे पनि मन्त्रीको दौडमा छन् ।
मुख्यमन्त्रीले माओवादीलाई २ मन्त्रालय दिने र मनाङेलाई सरकारमा सामेल नगराउने मनसाय बनाएका छन् । तर माओवादी दलका नेता हरिबहादुर चुमानले ३ मन्त्रालय आफूहरूको बटम लाइन भएको बताए । ‘तीन मन्त्रालय हाम्रो बटम लाइन हो । मुख्यमन्त्री आलोपालोको समझदारी भैसकेको छ,’ उनले भने ।
माओवादीले भौतिक सहित सामाजिक विकास मन्त्रालय खोजेको छ । कांग्रेसले सामाजिक छोड्न मानेको छैन । माओवादीबाट रेशम जुग्जाली मन्त्री बन्ने लगभग पक्का जस्तै छ । कांग्रेसले पाउने मन्त्रालयमा मुख्यमन्त्री सहित अर्का एक मन्त्री नियुक्त भैसकेका छन् । ४ वटा मन्त्रालय पाए अब २ जना बन्नेछन् भने ५ वटा पाए अझै ३ जना मन्त्री बन्ने छन् ।
तर कांग्रेसमा दर्जनबढी सांसदहरू मन्त्रीका लागि दौडधुप गरिरहेका छन् । कांग्रेसबाट कास्कीका विन्दुकुमार थापा, लमजुङका डा. टकराज गुरुङ, नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका जीत शेरचन मन्त्री बन्ने प्रबल सम्भावना छ । कास्कीकै सरस्वती गुरुङ र प्रकाश बराल, पर्वतकी रेखा गुरुङ र बागलुङका डिल्लीराम सुवेदीको पनि चर्चा छ ।
स्रोतका अनुसार टकराज र विन्दु मध्ये एकजना मन्त्री बन्नेछन् । जिसी शेखर समूहबाट मन्त्री बन्ने पक्का जस्तै छ । बाँकी रहेको एक मन्त्रालय धवलागिरिबाट बन्ने सम्भावना देखिन्छ । रेखा वा जीतलाई यही क्याबिनेटमा राख्न सक्ने स्रोत बताउँछ । पाण्डेलाई संसदीय दलको नेतामा निर्वाचित गर्ने बेलामा नै रेखालाई प्रमुख सचेतक वा मन्त्री बनाउने सहमति भएको बताइन्छ ।
बागलुङबाट मात्रै कांग्रेसका ६ जना सांसद रहेका कारण बागलुङबाटै मन्त्री हुनुपर्ने अडान सांसदहरूको छ । गगन थापाका प्रिय पात्र सुवेदी बागलुङबाट निर्वाचित भएका हुन् । कांग्रेसले मन्त्रीसँगै संसदभित्रका पदाधिकारी पनि टुंग्याउन बाँकी छ । सबै पद एकैपटक टुंग्याउने योजना पाण्डेले बताएका छन् ।