विवाह गर्न नमानेको भन्दै डाक्टरको घरमा गएर नर्सले गरिन् आत्महत्या
काठमाडौँ । विवाह गर्न नमानेको भन्दै प्रेमीको घरमा गएर प्रेमिकाले आत्महत्या गरेकी छिन् ।
भरतपुर महानगरपालिका-१ घर भएकी २९ वर्षकी नर्स समेत रहेकी प्रेमिका अनुमा श्रेष्ठले आत्महत्या गरेकी हुन् ।
प्रेमी डा. सुजन ढकालले आफूसँग विवाह गर्न नमानेको भन्दै प्रेमिका श्रेष्ठले शनिबार काठमाडौँ बोहराटारस्थित सुजनको घरमा गएर आत्महत्या गरेको पाइएको छ ।
घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान अघि बढाएको छ । मृतक अनुमा स्टाफ नर्स हुन् भने प्रेमी भनिएका ढकाल डाक्टर रहेको पाइएको छ । अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा कार्यरत रहेको पाइएको छ ।
लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न नमानेको भन्दै उनले आत्महत्या गरेको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । ‘शव भेटिएपछि हामीले अनुसन्धान अघि बढाएका छौँ’ जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता सिताराम रिजालले भने । प्रहरीले सुसाइड नोट समेत फेला पारेको छ ।