निराकाे हत्यामा संलग्न सार्वजनिक, लुटपाटकै उद्देश्यले हत्या

काठमाडौँ । प्रहरीले काठमाडौँको चाबहिलस्थित सरस्वती नगरमा भाँडा पसल सञ्चालन गर्ने निरा पाण्डे आचार्यको हत्यामा संलग्नलाई सार्वजनिक गरेको छ । प्रहरीले लुटपाटकै उद्देश्यले घटना भएकाे बताएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोमा आइतबार (आज) आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको देखिएको बताए ।

उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले झापाबाट विनोद विकलाई शनिबार पक्राउ गरेको थियो ।

उनलाई आइतबार प्रहरीले सार्वजनिक गर्दै ७ वैशाखमा निराको हत्यापछि निराले लगाएको सिक्री लुट्नुका साथै काउन्टरमा भएको ११-१२ हजार रुपैयाँ लुटपाट गरेको आचार्यले  जानकारी दिएका छन् ।

विकले उक्त सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको बयानमा बताएका प्रहरीले जनाएको छ ।

निराको हत्याअघि विकले उक्त पसल हेरेर फर्किएको र दोस्रो पटक गई हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।

एसएसपी आचार्यका अनुसार ‘थप अनुसन्धान भएर नयाँ चिज पनि आउन सक्छ । अहिले हाम्रो प्रारम्भिक अनुसन्धानमा सिक्री लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिन्छ ।’

त्यस्तै, निराको परिवारसँग यसअघि विकको कुनै पनि सम्पर्क भएको नपाइएको बताउँदै एसएसपी आचार्यले भने, ‘मृतक र मृतकका परिवारसँग यसअघि उसको सम्पर्क भएको देखिएन’ ।

साथै, विकले आर्थिक समस्याका कारण लुटपाट गरेको पाइएको समेत एसएसपी आचार्यले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *