सिटी उक्लियो शीर्षस्थानमा, युनाइटेड र लिभरपुल पनि अघि बढ्दै
काठमाडौँ । म्यानचेस्टर सिटी इङलिश प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई २-१ गोल अन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए । त्यस्तै फुलह्यामका लागि कार्लोस भिनिसियसले एक गोल गरेका थिए । यो जितपछि म्यानचेस्टर सिटीको ३२ खेलमा ७६ अंक भएको छ र लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
दोस्रो स्थानमा रहेको आर्सनलको ३३ खेलमा ७५ अंक रहेको छ । यो सँगै लामो समयदेखि लिगको शीर्ष स्थानमा रहेको आर्सनल दोस्रो स्थानमा झरेको छ । फुलह्यामको भने ३३ खेलमा ४५ अंक छ र लिगमा १०औं स्थानमा रहेको छ ।
अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई १-० गोल अन्तरले पराजित गरेको छ । यस खेलमा खेलको ३९औँ मिनेटमा ब्रुनो फर्नानडेजले गरेको गोल नै खेलको निर्णयक गोल बनेको थियो । जितपछि म्यानचेस्टर युनाइटेडको ३२ खेलमा ६३ अंक भएको छ र लिगमा चौथो स्थानमा छ । एस्टन भिल्लाको भने ३४ खेलमा ५४ अंक छ र लिगमा सातौं स्थानमा रहेको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले घरेलु मैदानमा टोटेनहम हटस्परमाथि ४-३ को रोमाञ्चक जित निकालेको छ । लिभरपुलको जितमा कर्टिस जोन्स, लुइस डियाज, मोहम्मद सलाह र डिएगो जोटाले गोल गरे । टोटेनहमका ह्यारी केन, ह्युङ मिन सन र रिचार्लीसनले गोल गरेपनि टोलीको हार टार्न सकेन ।
जितसँगै लिभरपुल ३३ खेलबाट ५६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजित टोटेनहम ३४ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा छ ।