सांसद कोइरीलाई निलम्बन गर्न माग गर्दै प्रहरीले लेख्यो संसदलाई पत्र
काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बन गर्न माग गर्दै प्रहरी प्रधान कार्यालयले संसदलाई पत्र लेखेको छ । प्रतिनिधि सभा नियमावली २०७९ अनुसार कोइरी फरार रहको र उनलाई निलम्बन गर्नुपर्ने माग प्रहरीले राखेको हो । यसअघि पनि प्रहरीले संसदलाई सांसद कोइरी फरार रहेको जानकारी गराएको थियो । तर पुरानो नियमावली अनुसार उक्त पत्र अघि बढाउन संसदले आनाकानी गरेको थियो । नयाँ नियमावली बनेपछि भने सांसद कोइरि फरार रहेको भनी कतैबाट औपचारिक जानकारी नआएको सभामुख देवराज घिमिरेले बताएका थिए । कतैबाट औपचारिक जानकारी नआएसम्म सभामुखले कुनै एक्सन लिन नमिल्ने सभामुख घिमिरेले बताएका थिए ।
सभामुखको उक्त भनाइकै आधारमा प्रहरीले दोस्रो पटक संसदलाई सांसद कोइरीलाई निलम्बन गर्न माग गर्दै पत्र लेखेको हो ।
२५ भदौ २०७२ मा मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक थमन विकलाई घेरा हाली कुटपिट गरी हत्या गरेको घटनामा कोइरीविरुद्ध जिल्ला अदालत महोत्तरीमा कर्तब्य ज्यान मुद्दा विचाराधीन अवस्थामा छन् ।
उक्त मुद्दामा जिल्ला अदालतले थुनछेक बहसपछि महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । तर उच्च अदालत जनकपुरधामले २०७७ मंसिर १९ गते महतोलाई थुनामा राख्न आदेश दिएको थियो । त्यसपछि महतो प्रहरीको फरार सूचीमा रहँदै आएका छन् ।
महोत्तरी- १ बाट निर्वाचित एमाले सांसद काेइरीमाथि ज्यान मुद्दा रहेकाेले निलम्बन गर्नुपर्नेमा संसदीय समितिकाे सदस्य बनाउन खाेजिएकाे भन्दै विपक्षी दलका सांसदहरूले नै विराेध गर्दै आएका छन् ।