सरकारको सल्लाहमै महावीर पुन आन्दोलनमा उत्रिनुभएको होः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन सरकारको सल्लाहमै आन्दोलन गर्न गएको बताएका छन् ।

सोमबार प्रेस सेन्टर नेपाल चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले वैशाख १४ गते महावीर पुन बालुवाटार गएको र आफूसँग सल्लाह गरेर नै आन्दोलनमा उत्रिएको बताए ।

उनले महावीर पुनले आफूसँग केही माग राखेको र ती माग पूरा गर्न सरकार तयार रहेको बताए । उनले सरकारले महावीर पुनलाई वास्ता गरेन भन्नु गलत भएको बताए ।

उनले भने, ‘महावीर पुन माईतीघर मण्डलामा बस्ने अघिल्लो दिन मसँग आउनुभएको थियो, बालुवाटारमा । राम्रो कुराकानी भयो । केही माग गर्नुभएको छ । जिडिपीको एक प्रतिशत भन्नुभएको रहेछ, तर त्यसको होइन, अहिलेको आर्थिक अवस्था हेर्दा विकासको त्यसमा राम्रो छलफल भयो । म त माईतीघरमा बस्छु है कस्तो हुँदो रहेछ भनेर भन्नुभएको थियो, मैले नै भन्न त मिलेन, तर तपाईं बस्नुभए सजिलो हुन्छ बजेट बनाउन भनेको थिएँ, सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो । सरकारसँगै छलफल गरेर, सल्लाह भएर उहाँ बस्नुभएको हो । म उहाँका माग सम्बोधन गर्छु ।’

प्रधानमन्त्री दाहालले पूर्वलडाकुलाई रकम दिने विषय वि.सं २०७१ को सरकारले गरेको निर्णय भएको उनले बताए । उनले तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र कांग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको विषय भएको बताए ।

तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्नेगरी फैसला भएकाले रकम दिन लागिएको बताए । उनले आर्थिक समस्याका कारण लडाकुलाई किस्ताबन्दीमा रकम दिने विषयमा छलफल भइरहेको पनि बताए ।

प्रधानमन्त्री दाहालले रास्वपा आफू नेतृत्वको सरकारमा आउने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *