भ्रष्टाचारको छानविन गर्न उच्चस्तरीय आयोग बनाउँछौँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा भएका भ्रष्टाचारका घटनाहरूको छानविन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सरकारको तयारी रहेको बताएका छन् ।
सोमबार दिउँसो काठमाडौँको कमलादीमा अखिल नेपाल ट्रेड युनियन महासंघको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारको छानविनका लागि छिट्टै आयोग गठन गरिने बताएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘हामीले पार्टीको घोषणापत्रमा नै प्रतिवद्धता व्यक्त गरेका छौँ कि २०४६ सालपछि भएका सबै भ्रष्टाचारको छानविन गरिनेछ । हामी आयोग बनाउने तयारीमै छौँ । मैले वर्तमान सरकारका ३ प्राथमिकता भनेको छु, सामाजिक न्याय, सुशासन र समृद्धि। सुशासनको लक्ष्य हासिल गर्न आयोग बनाएर काम गर्छौं ।’
सबैभन्दा ठूला भ्रष्टाचारी नै भ्रष्टाचारको छानविन हुनुपर्यो भन्दै तमासा गरेको देख्दा अनौठो लागिरहेको उनले बताए ।
‘तिनीहरू जनतालाई भ्रम पार्न यसरी प्रस्तुत भइरहेका छन्। हामी तिनीहरूको भ्रममा पर्न जरूरी छैन,’ उनले भने, ‘भ्रष्टाचारको छानविन गरिन्छ र मुलुकमा सुशासनको नयाँ वातावरण बनाइन्छ ।’
सरकार बनेको चार महिनाको अवधिमा मुलुकमा सकारात्मक सुरूवात भएको बताए । नेपाल ट्रेड युनियन महासंघको आठौँ महाधिवेशनमा सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा सरकार गठन भएपश्चात् राम्रो कामको सुरूवात भएको बताए ।
‘यसअघि दसौँ वर्ष समयमै विद्यालयमा पुस्तक नपुगेर लाखौँ विद्यार्थीहरूको भविष्य अन्यौलमा थियो,’ उनले भने, ‘तर, यसपटक समयभन्दा अगाडि नै दुर्गमभन्दा दुर्गमका विद्यालयमा पुस्तक पुगेका छन् ।’
उनले राजस्व संकलन बढेको, चोरीपैठारी घटेको, रेमिट्यान्स बढेको, विदेशमा रहेका लाखौँ नेपाली श्रमिकलाई योगदानमा आधारित सामाजिक कार्यक्रममा आवद्ध गरिएको उनले बताए ।
‘हिजो राहदानी, राष्ट्रिय परिचयपत्र लिने ठाउँमा लामा लामा लाइन थिए,’ उनले भने, ‘अहिले लामा लाइन घटेका छन् । सेवा प्रवाहमा सुधार आएको छ । सुशासनका निम्ति राम्रो आधार तयार भएको छ ।’