वर्षाले पृथ्वी राजमार्गमा भ्वाङ पर्‍यो, अवरुद्ध सडक खुलाउन थप सेना परिचालन

काठमाडौँ । धादिङ धुनीबेँसी नगरपालिका-६ स्थित गणेश खोलामा सोमबार गएको पहिरो पन्छाउन नेपाली सेना परिचालन भएको छ । पहिरोका कारण सोमबार अपराह्नदेखि पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सडक खुलाउन तत्कालै सेना परिचालित भएको हो ।

परिचालित सैनिक इञ्जीनियर्स टोलीले उक्त स्थानमा तत्कालै एक्रोब्रिज जडान गरिहाल्नुपर्ने अवस्था नभएको जानकारी गराएको छ । सडक विभागका कर्मचारी तथा धादिङस्थित गणबाट परिचालित फौजले रातभर करिब १० फिट तलबाट ग्यावियन वायर लगाई माटो ढुङ्गा भर्ने कार्य गरिरहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।

अवरुद्ध सडक खुलाउन आज बिहानदेखि नै सेनाको थप फौज परिचालन भएको पनि उनले जानकारी दिए । सडक भासिएर भ्वाङ परेको छ । अबको दुई/तीन घण्टामा सडक खुलाउने गरी काम भइरहेको उनको भनाई छ ।

हिजो दिउँसोदेखि नै सडक ठप्प हुँदा यात्रु अलपत्र परेका छन् । कोही नजिकै रहेका आफन्तकोमा गएपनि धेरैजसोले गाडीभित्रै बसेर रात कटाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *